१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

पर्यटकीय केन्द्र बन्दै दाङको पुरन्धरा झरना

पर्यटकीय केन्द्र बन्दै दाङको पुरन्धरा झरना
अ अ+ अ-

दाङ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्वपूर्ण आकर्षक पर्यटकीय स्थल बन्न सफल भएको छ । अहिले यो झरनाको अवलोकन गर्न टाढाटाढाबाट दैनिक सयौँ मानिस पुग्न थालेका छन् ।

पैँतालीस फिट उचाइको यो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । सोही दृश्यको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक लोभिने गरेको स्थानीयको भनाइ छ ।

तीन तिरबाट जङ्गलले घेरिएको यो ठाउँको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी छ । बबई नदी किनाराबाट करिब १० मिटर टाढा पूर्वतर्फ पुरन्धरा झरना आकाशबाट खसेजस्तै देखिन्छ । झरनाबाट एकतमासले बर्सिने पानी पोखरीजस्तै आकारमा तल जम्मा हुन्छ । त्यहाँबाट यो पानी बिस्तारै बबई नदीमा गई मिसिने गर्दछ ।

झरनाको अवलोकन गर्न पुग्ने कतिपय त्यही पानी खस्ने ठाउँमा सेल्फी खिच्न व्यस्त देखिन्छन् भने गर्मीको समयमा अवलोकन सहित पौडी खेलेर मज्जा लिनेहरुको पनि भीड लाग्ने गर्दछ ।

यतिबेला दाङका विभिन्न स्थान तथा अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि आउने गरेका झरना व्यवस्थापन समितिमा कार्यरत कर्मचारी कुलबहादुर बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार अहिले दैनिक तीनदेखि चारसय आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान यहाँ आइपुग्छन् ।

विदाको दिनमा झरनाको अबलोकन गर्न आउनेको संख्या अझ बढी हुने गर्दछ । बुढाका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट भने पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइकलको रु ३०, कार तथा जिपको रु २०० र बसको रु २५० निर्धारण गरिएको छ ।

विगतका वर्षमा त्यहाँ कर्मचारीको व्यवस्था थिएन । अहिले झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि त्यहाँ कर्मचारीको व्यवस्था गरिएको छ । झरनाको अवलोकन तथा वनभोज खान आउनेले ल्याउने सवारीसाधनबाट भएको आम्दानीबाट कर्मचारीलाई तलब दिन र बाँकी रकम झरनाको विकासमा खर्च गरिने श्री बुढाले जानकारी दिनुभयो ।

झरनाको अवलोकन गर्नका लागि कोहलपुरबाट पहिलो पटक पुग्नु भएकी ४५ वर्षीया कालिका रेग्मीले यहाँ आउँदा निकै आनन्द आएको प्रतिक्रिया दिनुभयो । “यो ठाउँ साँच्चिकै सुन्दर रहेछ । यहाँ केही भौतिक पूर्वाधार निर्माण गरी यसलाई पार्कको स्वरुप दिएर वरपरको वातावरण सफा राख्न सकिए अझ बढी पर्यटक आइपुग्ने देखियो ।”

दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी ५७ वर्षीय ज्ञानी अधिकारीले दश वर्षअघि पञ्चकुलेबाट छ घण्टा पैदल हिँडेर यो झरना हेर्न आएको विगत सम्झनुभयो । गत सोमबार गाडी चढेर झरना अवलोकन गरी घर फर्कदा आफूलाई त्यो पुरानो याद पुनः ताजा भएर आएको बताउनुभयो । उहाँले पर्यटकका लागि खानेपानी, शौचालय लगायतका पूर्वाधारको आवश्यकता देखिएको सुनाउनुभयो ।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको ट्वाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिण पचिश्ममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की भए त्यहाँ बाह्रै महिना पर्यटक सजिलैसँग सवारी चढेर जान सक्नेछन् ।

झरनाबाट करिब एकसय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर पनि छ । योे मन्दिरमा महाशिवरात्रिमा ठूलो मेला लाग्दछ । झरना अवलोकनका लागि त्यहाँ पुग्नु भएका ज्येष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारीले झरनाको वरिपरिको विकासमा ध्यान दिन स्थानीय तथा लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले त्यहाँ आउने पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चरा तथा जीवजन्तुको अवलोकन गराउन सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरना र त्यस वरिपरि पूर्वाधार विकासका लागि आफूले गुरुयोजना बनाई कामलाई प्राथमिकतामा राखेको र यस झरनालाई जिल्लाकै एउटा प्रमुख पर्यटकीय स्थल बनाउनका लागि प्रयत्न गरिरहेको बताउनुभयो ।

विगतका वर्षमा बाटो नहुँदा झरना क्षेत्रको अवलोकन वर्षायाममा गर्न सकिँदैन थियो । अहिले झरनासम्म पुग्ने बाटो ग्राभेल गरिएकाले वर्षैभरि मोटरबाट त्यहाँ पुग्न सकिने अवस्था छ, उहाँले भन्नुभयो । रासस