१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईं रेष्टुरेन्टमा खानुहुन्छ ? तपाइँलाई संक्रमणको दर दोब्बर हुनसक्छ !



अ+ अ-

काठमाडौं । रेष्टुरेण्टमा खाना खाने मानिसहरुमा कोरोना भाइरसबाट संक्रमित हुने खतरा अरु मानिसमा भन्दा दोब्बर हुने खुलासा भएको छ । अमेरिकामा गरिएको एक अध्ययनमा सो तथ्य पाइएको हो ।  अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को रिपोर्टअनुसार रेष्टुरेण्ट र बारमा खाना खाँदा कोरोनाभाइरस संक्रमणको खतरा बढ्छ । सीडीसीको रिपोर्टअनुसार बसमा यात्रा गर्ने, कार्यालय जाने, जिम जाने भन्दा तुलनात्मक रुपमा रेष्टुरेण्टमा खाँदा संक्रमित हुने खतरा बढी हुन्छ ।

डेलीमेलका अनुसार अमेरिकाका विभिन्न शहरले रेष्टुरेण्ट र बार खोल्ने तयारी गरेकै बेला यो रिपोर्ट सार्वजनिक भएको हो । रिपोर्टमा अनुसार न्यूयोर्क शहरले लामो समयसम्म प्रतिबन्ध लागू गरेपछि अब ३० सेप्टेम्बरदेखि कूल क्षमताको २५ प्रतिशत मानिस मात्र बस्न पाउने गरी इनडोर रेष्टुरेण्ट खोल्न अनुमति दिएको छ । उता फलोरिडाका बारहरु कूल क्षमताको ५० प्रतिशत बस्न पाउने गरी सोमबारदेखि खुल्दैछन् ।

सीडीसीले कोरोनाको जाँच गराउने ३१४ जनामा एक अध्ययन गरेको थियो । रिपोर्टका अनुसार रेष्टुरेण्ट जाने ४१ प्रतिशत मानिसहरु पोजेटिभ पाइए । बितेका १४ दिनमा बार वा कफी शप गएकाहरुमध्ये ७० प्रतिशत पोजेटिभ पाइए । केही महिना पहिलेसम्म अमेरिकाका ४२ राज्यका रेष्टुरेण्टमा खान प्रतिबन्ध थियो तर अब धेरैजसो राज्यले शर्तका साथ अनुमति दिएका छन् । अमेरिकामा ६७ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । १ लाख ९८ हजार ५ सयको मृत्यु भइसकेको छ ।