२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य



अ+ अ-

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारका रूपमा पर्यटन क्षेत्र रहेको बताउनुभएको छ ।

जिल्लाको मदाने गाउँपालिका–६ स्थित कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको आज स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै पर्यटन प्रवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

उक्त खानेपानी आयोजना गुल्मी, अर्घाखाँची र प्यूठानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण योजना रहेको बताउँदै मुख्यमन्त्री आचार्यले यसले स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीनै तहका सरकारले यसलाई साझा आयोजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले लुम्बिनीको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन ‘सर्किट’ निर्माण गर्ने योजना अघि सार्दै आएको छ । प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आपसमा जोडेर आकर्षक पर्यटन सर्किट निर्माण गर्ने तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । उहाँले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राख्नुभयो ।

“लुम्बिनी प्रदेश ‘मिनी’ नेपालका रूपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ । यहाँ रहेका पुरातात्विक सम्पदाहरूको संरक्षण गरेर बाह्य पर्यटकलाई भित्र्याउने मुख्य सङ्कल्प प्रदेश सरकारको छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो । पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धि, रोजगारीका अवसर, जीवनस्तर सुधार गर्ने मेरुदण्डका रूपमा विकास गर्दै लैजाने उहाँको भनाइ छ ।

“पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाहमा सुधार र समग्र पर्यटकीय गतिविधि प्रवर्द्धनमा जोड दिएका छौँ”, मुख्यमन्त्रीले भन्नुभयो, “पर्यटनको क्षेत्रबाट स्थानीयस्तरमा प्रशस्त रोजगारीका अवसर सृजना गर्न सकिन्छ ।” प्रदेश सरकारले दिगो पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्दै आएको बताउँदै नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो ।

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य थापा, पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, इश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कालगायत व्यक्तिको सहभागिता थियो । अन्तरक्रिया कार्यक्रमले कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रूपमा अघि बढाउँदै आपसी समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।