२५ वर्ष पुरानो सपना पूरा गर्न २ वर्षअघि विश्वको पहिलो अमेरिकाको एल्लो स्टोन नेसनल पार्क पुग्दा बाढी र विनाशको कारणले निकुञ्ज बन्द भएको देख्दा स्तब्ध भएँ । राष्ट्रिय निकुञ्जले भरिएको सुन्दर अलस्काभरि डढेलो छल्दै यात्रा गर्दा हामी दु:खी भयौं । हजारौं माईल यात्रा गरेर यसोमटी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्दा निकुञ्ज पुरै जलिरहेको र बन्द रहेको देख्नुपर्दा हाम्रो मुटुमा आगो लाग्यो । जलवायुजन्य विपद् भनेर चित्त बुझायौं । समय र निजी खर्च खेर जाँदा खल्लो लाग्ने नै भयो । तर, अग्नि नियन्त्रकहरुको समर्पण, त्याग र सम्मान देखेर बाँकी जीवन अग्नि नियन्त्रक भएर बिताउन पाए हुने भयाे ।
आज, अंग्रेजी नयाँ वर्षमा क्यालिफोर्नियाको डढेलोले विश्वलाई भयभित बनाएको छ । १८८०४ आवाश खरानी पारेर ८५ जनाको ज्यान लिएको क्यालिफोर्नियाकै ५ वर्ष पुरानो विनाशकारी क्याम्प डढेलोबाट अमेरिकाले पाठ सिकेको देखिएन । २०२० को कम्लेक्स डढेलो अमेरिकाको इतिहासकै अर्को ठूलो डढेलो हो, जसले १० लाख एकड क्षेत्रलाई खरानी बनाएको थियो । क्यालिफोर्नियाका डढेलोहरु वर्सेनि झन्-झन् शक्तिशाली भइरहेका छन् । डढेलो १९७० भन्दा ८ गुणा ठूलाे भएर ५ सय प्रतिशत बढी क्षेत्रफलमा फैलिरहेकाे छ भन्ने प्रतिवेदनले जलवायु दुष्चक्रलाई बुझाउँछ ।
यो डढेलोले जलवायु युद्धसँग शक्ति, सम्पति, प्रविधिको केही लाग्दैन भन्ने पाठ सिकाएको छ । यो डढेलोमा प्रविधियुक्त महाशक्ति राष्ट्रको बेजोड हार भएको छ । यो डढेलोले अट्टेर अमेरिका र शक्ति राष्ट्रहरुलाई जलवायु विनाशप्रति सम्वेदन र जवाफदेही हुन कोर्रा लगाएको छ ।
५ वर्ष पुराना डढेलोहरुको फेहरिस्त लामो छ । अति सुख्खापन र तीब्र हावाको कारणले अष्टेलियामा लागेको डढेलोले ३७ जना मानिस र १ अर्बभन्दा बढी वन्यजन्तुको ज्यान लिएको जलवायु दुष्परिणाम उल्लेख गर्नैपर्ने हुन्छ । किनभने त्यो डढेलोले ५०५ मिलियन टन कार्बन वायुमण्डलमा उत्सर्जन गर्दा वार्षिक १ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको प्रक्षेपण डरलाग्दो छ । उत्सर्जित त्यो कार्वन सञ्चित गर्न १ सय वर्ष लाग्ने भएकाले धेरै पुस्ताले त्यो पीडा भोग्नुपर्ने छ । यो बुसफायर नियन्त्रण गर्न अष्ट्रेलियाले संकटकाल घोषणा गरेर सेना परिचालन गर्नु परेको थियो ।
त्यही बर्ष पृथ्वीको अक्सिजन भण्डार अथवा फोक्सो मानिने ब्राजिलको अमेजन जङ्गलमा ७३ हजार डढेलो लागेर २० प्रतिशत अक्सिजन नष्ट भएको दुखदायी खबरले विश्वको ध्यान खिचेको थियो । सन् २०१९ मा रुसको साईवेरियन डढेलोले ३३ हजार वर्ग किलाेमिटर वन खरानी बनाउँदा उत्सर्जन भएको कार्वनको मात्रा उस्तै अत्यधिक थियो । त्यही वर्ष भारतको बन्दीपुरे डढेलोले राष्ट्रिय निकुञ्जको चार हजार चार सय उन्नाईस हेक्टर बन र वन्यजन्तु विनाश गरेको थियो ।
प्रकृतिको अनुपम धनी देश नेपाल प्रकृति संरक्षणको लागि विश्व प्रशिद्ध छ । गएको वर्ष नेपालले इतिहासमा कहिले नदेखे–भोगेको डढेलो सहन गर्नुपर्यो । भू–उपग्रहबाट पूरै देश जलिरहेको देखिने त्यो डढेलोले १ सय दुई जनाको ज्यान लिएको र अर्बौंको क्षति गरेको तथ्याङक बाहिर आए पनि वन जङ्गल र वन्यजन्तु क्षति तथा कार्वन उत्सर्जनको क्षति मापन भएन । जसको दुष्परिणाम यो वर्षको पुष माघमा हिउँ नपरेर हिमालहरु नाङ्गै बस्नुपर्यो । वैशाखको गर्मी माघको पहिलो हप्तामा आएको जलवायु दुष्चक्रको दुष्परिणामले चैत्र–वैशाखमा लाग्ने डढेलो पुस माघमा लाग्न थालिसकेको छ ।
७९५ को ज्यान लिएर २७४२ जना घाइते बनाउँदै २२ अर्ब १६ करोड ८७ लाख वरावरको क्षति गर्ने यो दशकका २०५१८ आगलागीका घटनाले हाम्रो जन, धन, वन र जलवायुको भयङ्कर क्षतिलाई ईङ्गीत मात्र गरेको छैन, त्यसले हामीलाई संवेदन, सतर्क र जलवायु जिम्मेवार हुन ढ्याङ्रो ठोकेको छ ।
सत्य छर्लङ्ग छ, पोहोर साल उत्सर्जित कार्वन सञ्चित गर्न हामीलाई ठूलो क्षेत्रफलको स्वस्थ जङ्गल जरुरी पर्दछ । विश्वसामु नेपालले सन् २०३० सम्ममा २३.३९ लाई ३० प्रतिशत संरक्षण क्षेत्र बनाउने सङ्कल्प र सन् २०५० सम्म कार्वन शून्य गर्ने प्रतिज्ञा पूरा गर्न पनि स्वस्थ जङ्गलको अनिवार्य संरक्षण हुन अपरिहार्य छ । यो कवोल गर्ने वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री दुवैजना राष्ट्रिय जहाजको कक्पिटमा रहनु भएकाले उहाँहरु प्रकृति रक्षाको आफ्नो वाचामा नैतिकवान भएर ईमान्दार र सत्यवान रहन अपरिहार्य छ । कार्वन सञ्चिति क्षमता बेजोड बढाएर जलवायु जवाफदेहीता प्रश्तुत गर्न जरुरी छ । विश्वलाई देखाउन होइन, मुलकवासीलाई प्राणघातक विपद् र विनासबाट जोगाउनलाई । किनभने पोहोरको डढेलोले जन धन वनको मात्र क्षयीकरण गरेर चित्त बुझाएन, असोजमा सिंहदरबाकै सामुन्ने वाढीले दर्जनौंको ज्यान लियो । अर्बौंको क्षति गर्यो ।
पुस-माघको डढेलोलाई विज्ञहरु राम्रो मान्छन् । यो नियन्त्रित डढेलोको समय पनि हो । निकुञ्ज र विभिन्न वन क्षेत्रका नियन्त्रित डढेलोका आ–आफ्नै विधि र प्रकिया छन् । ती डढेलोलाई चैत्र वैशाख कुर्नु हुँदैन र नियन्त्रण बाहिर जान दिनु हुँदैन ।
विज्ञ होईन, अध्येता अनुसन्धाताको हैसियतले डढेलो नियन्त्रणको लािग केही सुझाव राख्ने जमर्को गरेको छु ।
चीफ वार्डेन रमेश थापा र संरक्षण कमाण्डर प्रसे राजेन्द्र पन्तको पालामा बर्दिया राष्ट्रिय निकुञ्ज शून्य धुवाँ वर्ष बन्याे । नियन्त्रित डढेलो लगाएर घाँसे मैदानहरु हरियाली बनाइए । त्यो बाहेक धुवाँ देख्यो की शीघ्र पुग्ने मोबाइल फायर फाइटर टोली खडा गरेर निकुञ्जमा धुवाँ पुत्पुताउन दिएनन् । ८ वर्षअघिको असल अभ्यास ।
त्यही निकुञ्जमा एउटा आगलागीमा ५ हजार स्थानीय घरघरबाट गाग्री र बाल्टिन लिएर स्वस्फूर्त पुगे र छिनमा आगो निभाए । अर्को असल अभ्यास । त्यही निकुञ्ज पोहोर साल दनदनी जल्यो । सवै कानमा तेल हालेर निश्क्रिय भई रमिते भएर धुवाँ पिउँदै बसे । खराब नजिर ।
नेपालको अक्सिजन भण्डार निकुञ्जहरुलाई रमेश/राजेन्द्र पालाको डढेलो शून्य मोडलमा लैजान नेपाली सेनाको अगुवाई र संयोजन हुन जरुरी छ । सेना, सशस्त्र र नेपाल प्रहरीको तैनाथीलाई सूचना सम्वाहक, सचेतना प्रशिक्षक र डढेलो नियन्त्रण अगुवा वा संयोजक बनाउने एकीकृत सङ्कल्प र संयुक्त प्रयास जोडदार कामयावी हुनेछ । वातावणीय सेवा र विपद् व्यवस्थापन कसैको लिखित मौखिक आदेश जरुरी पर्दैन । नेतृत्वको शून्य डढेलोको सङ्कल्प र उर्दी जारीले पुग्छ ।
वर्तमान र भविष्यका डढेलोहरु कल्पना बाहिरको शक्तिशाली हुने छन् । र, धेरै गुना छिटो र टाढा फैलिने छन् । नियन्त्रण असम्भव हुनेछ । तसर्थ, हाम्रो भिरालो र विकट भूगोल, श्रोतसाधनको अभावलाई डढेलो लाग्नै नदिने प्रतिरोधात्मक उपाय (प्रिभेन्टिभ मेजर्स) अपनाउनु सर्वोत्तम हुनेछ । यसका लागि ब्यापक सर्भिलेन्स र निगरानी जरुरी हुनेछ । डढेलो लागिहालेमा शुरुमै नियन्त्रणमा लिन सम्पूर्ण शक्ति लगाउनु बुद्धिमानी हुनेछ । अपवादवाहेक नेपालका सतप्रतिशत डढेलो मानव सिर्जित भएकाले स्थानीय तहमै सचेतना कार्यक्रम, प्रचार–प्रसार र तालिम, सभा–गोष्ठी संचालन गर्न सम्बन्धित निकाय (डिभिजन वन कार्यालय) लाई आग्रह र सहयोग गर्नुपर्दछ । अग्निपथ निर्माण र सफाई, वन व्यवस्थापन र सफाई, इन्धन सामग्री हटाउने, डढेलो बार लाउने, हरित पेटी निर्माण गर्ने, प्रजातीय फेरबदल गर्ने, नियन्त्रित डढेलोको काम सम्पन्न गराउने र कडाईका साथ दण्ड पुरस्कार नीतिको अवलम्वन गर्ने प्रतिरोधात्मक कामहरु हुन् । डढेलोसँग जुध्ने तालिम र श्रोत साधनको जुगाड, पूर्वतयारी पूरा गरेर आत्मविश्वास जगाएर बस्नु वान्छनीय हुनेछ ।
औसत १ सय हेक्टर क्षेत्रफलमा १ सय घरघुरी लिएर फैलिएका २४ हजार सामुदायिक वनले हरेक सामुदायिक वनमा २ सेट पीपीई र १० जनालाई आगो निभाउने तालिम दिँदा तुरुन्त २ लाख ४० हजार फायर फाइटर तयार गर्न सकिन्छ । जुन सम्भव छ । समुदायस्तरको डढेलो नियन्त्रण सङ्कल्प, पहल र प्रयास सवैभन्दा असरदार रामवाण अस्त्र हो ।
डिएफओको नेतृत्वमा हरेक जिल्लामा ५० जना सेना, २५ जना सशस्त्र प्रहरी र २५ जना नेपाल प्रहरी, १ सय जनाको तालिम प्राप्त प्रतिवद्ध चुस्त अग्नि नियन्त्रण टोली स्ट्याण्डवाई राखिनु पर्दछ । हरेक डिभिजन र सवडिभिजन वन कार्यालयले फायर हजार्ड म्याप वनाई सुरक्षा निकाय र सामुदायिक वनलाई उपलब्ध गराउनु पर्दछ र नियन्त्रण फायरको तालिम, अभ्यास, रिहर्सल गरेर फायर फाइटिङ्ग क्षमता अभिवृद्धि गरेर तम्तयार बस्नुपर्दछ ।
डढेलो अवधिभरि हरेक डिभिजन वन कार्यालयलाई एउटा अतिरिक्त सवारी साधन २ वटा अतिरिक्त मोटरसाईकल र डढेलो लागेमा चाहिए जति बस ट्रक भाडामा लिन सक्ने तथा विमा एवम् खाजा भत्ताको बजेट विनियोजन गरेर हौसला र मनोवल बढाई दिन जरुरी छ ।
डढेलो शून्य गर्ने निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, सामुदायिक वन र जिल्ला डिभिजन वन कार्यालयलाई कदर र पुरस्कारले सम्मान गर्न कन्जुस्याईं गर्नु हुँदैन ।
अन्त्यमा, डढेलो ठूलो प्राकृतिक अपराध हो र यसलाई अक्षम्य आतङ्क भनेर पुनर्परिभाषित गर्न जरुरी छ । जन आक्रोश, प्रतिशोध, अतिक्रमण दुर्नियत डढेलो भएर आउनु ज्यादै दु:खद् छ । प्रकृतिको विरुद्धमा छ ।
नेपाल भूराजनीतिक चपेटामा मात्र होईन छिमेकीहरुको डढेलो र धुवाँ–धुलो, प्रदूषण तथा प्राणघातक कार्वन चपेटामा जीउन बाद्य छ । ३४/३५ सालको तिव्वतबाट हाम फालेर नेपालमा सल्केको डढेलो होस् वा भारतबाट उक्लिने आगोको लप्काले ल्याउने डढेलोको जोखिम होस् नेपाल अतिरिक्त चनाखो, सावधान र पूर्वतयारीका साथ रहन जरुरी छ । राजनीतिक, आर्थिक, कुटनीतिक डढेलोले ध्वस्त नेपालसंग प्राकृतिक डढेलो सहन गर्ने सामथ्र्य छैन ।
शून्य डढेलो राष्ट्रिय नारा, राष्ट्रिय सङ्कल्प हुने हो र तदनुसारको टिमविल्डङ्ग, तालिम, अभ्यास, तयारी र टिमवर्क हुने हो भने डढेलो शून्य गर्न सम्भव छ । डढेलो र विपद् राष्ट्रिय एकताको सुवर्ण अवसर पनि हो भन्ने कुरालाई राष्ट्रिय सुरक्षाको खम्वा नेपाली सेनाले मनन गर्न र तदनुसारको टिमविल्डिङ्ग पहलकदमी लिन जरुरी छ । किनभने वर्तमान अवस्थामा राज्य, सत्ता र सरकार निरीह छ ।
बिडम्वना सरकार विचौलिया र दलालको वन–जंगल, नदी तथा समग्र प्रकृति विनाशको पथमा लतारिरहेको छ । तसर्थ, विपद् अनुगमन र नियन्त्रणको लगाम, जिम्मेवारी र अगुवाई अव स्वस्फूर्तरुपमा नेपाली सेनाले लिनुपर्दछ । हरेक सिपाही कुशल अग्नि नियन्त्रक र उद्धारकर्मी हुन जरुरी छ । र, हरेक विद्यार्थी, शिक्षक, नागरिकलाई प्रकृति रक्षक, सहायक अग्नि नियन्त्रक र उद्धार सहायक बनाउन आवस्यक छ । तव मात्र यो प्राकृतिक स्वर्गको रक्षा कल्याण सम्भव हुन्छ ।
(लेखक प्रकृति संरक्षणकर्मी हुन्)