४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

डढेलो : पीडा र पाठ

डढेलो : पीडा र पाठ
अ+ अ-

२५ वर्ष पुरानो सपना पूरा गर्न २ वर्षअघि विश्वको पहिलो अमेरिकाको एल्लो स्टोन नेसनल पार्क पुग्दा बाढी र विनाशको कारणले निकुञ्ज बन्द भएको देख्दा स्तब्ध भएँ । राष्ट्रिय निकुञ्जले भरिएको सुन्दर अलस्काभरि डढेलो छल्दै यात्रा गर्दा हामी दु:खी भयौं । हजारौं माईल यात्रा गरेर यसोमटी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्दा निकुञ्ज पुरै जलिरहेको र बन्द रहेको देख्नुपर्दा हाम्रो मुटुमा आगो लाग्यो । जलवायुजन्य विपद् भनेर चित्त बुझायौं । समय र निजी खर्च खेर जाँदा खल्लो लाग्ने नै भयो । तर, अग्नि नियन्त्रकहरुको समर्पण, त्याग र सम्मान देखेर बाँकी जीवन अग्नि नियन्त्रक भएर बिताउन पाए हुने भयाे ।

आज, अंग्रेजी नयाँ वर्षमा क्यालिफोर्नियाको डढेलोले विश्वलाई भयभित बनाएको छ । १८८०४ आवाश खरानी पारेर ८५ जनाको ज्यान लिएको क्यालिफोर्नियाकै ५ वर्ष पुरानो विनाशकारी क्याम्प डढेलोबाट अमेरिकाले पाठ सिकेको देखिएन । २०२० को कम्लेक्स डढेलो अमेरिकाको इतिहासकै अर्को ठूलो डढेलो हो, जसले १० लाख एकड क्षेत्रलाई खरानी बनाएको थियो । क्यालिफोर्नियाका डढेलोहरु वर्सेनि झन्-झन् शक्तिशाली भइरहेका छन् । डढेलो १९७० भन्दा ८ गुणा ठूलाे भएर ५ सय प्रतिशत बढी क्षेत्रफलमा फैलिरहेकाे छ भन्ने प्रतिवेदनले जलवायु दुष्चक्रलाई बुझाउँछ ।

यो डढेलोले जलवायु युद्धसँग शक्ति, सम्पति, प्रविधिको केही लाग्दैन भन्ने पाठ सिकाएको छ । यो डढेलोमा प्रविधियुक्त महाशक्ति राष्ट्रको बेजोड हार भएको छ । यो डढेलोले अट्टेर अमेरिका र शक्ति राष्ट्रहरुलाई जलवायु विनाशप्रति सम्वेदन र जवाफदेही हुन कोर्रा लगाएको छ ।

५ वर्ष पुराना डढेलोहरुको फेहरिस्त लामो छ । अति सुख्खापन र तीब्र हावाको कारणले अष्टेलियामा लागेको डढेलोले ३७ जना मानिस र १ अर्बभन्दा बढी वन्यजन्तुको ज्यान लिएको जलवायु दुष्परिणाम उल्लेख गर्नैपर्ने हुन्छ । किनभने त्यो डढेलोले ५०५ मिलियन टन कार्बन वायुमण्डलमा उत्सर्जन गर्दा वार्षिक १ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको प्रक्षेपण डरलाग्दो छ । उत्सर्जित त्यो कार्वन सञ्चित गर्न १ सय वर्ष लाग्ने भएकाले धेरै पुस्ताले त्यो पीडा भोग्नुपर्ने छ । यो बुसफायर नियन्त्रण गर्न अष्ट्रेलियाले संकटकाल घोषणा गरेर सेना परिचालन गर्नु परेको थियो ।

त्यही बर्ष पृथ्वीको अक्सिजन भण्डार अथवा फोक्सो मानिने ब्राजिलको अमेजन जङ्गलमा ७३ हजार डढेलो लागेर २० प्रतिशत अक्सिजन नष्ट भएको दुखदायी खबरले विश्वको ध्यान खिचेको थियो । सन् २०१९ मा रुसको साईवेरियन डढेलोले ३३ हजार वर्ग किलाेमिटर वन खरानी बनाउँदा उत्सर्जन भएको कार्वनको मात्रा उस्तै अत्यधिक थियो । त्यही वर्ष भारतको बन्दीपुरे डढेलोले राष्ट्रिय निकुञ्जको चार हजार चार सय उन्नाईस हेक्टर बन र वन्यजन्तु विनाश गरेको थियो ।

प्रकृतिको अनुपम धनी देश नेपाल प्रकृति संरक्षणको लागि विश्व प्रशिद्ध छ । गएको वर्ष नेपालले इतिहासमा कहिले नदेखे–भोगेको डढेलो सहन गर्नुपर्‍यो । भू–उपग्रहबाट पूरै देश जलिरहेको देखिने त्यो डढेलोले १ सय दुई जनाको ज्यान लिएको र अर्बौंको क्षति गरेको तथ्याङक बाहिर आए पनि वन जङ्गल र वन्यजन्तु क्षति तथा कार्वन उत्सर्जनको क्षति मापन भएन । जसको दुष्परिणाम यो वर्षको पुष माघमा हिउँ नपरेर हिमालहरु नाङ्गै बस्नुपर्‍यो । वैशाखको गर्मी माघको पहिलो हप्तामा आएको जलवायु दुष्चक्रको दुष्परिणामले चैत्र–वैशाखमा लाग्ने डढेलो पुस माघमा लाग्न थालिसकेको छ ।

७९५ को ज्यान लिएर २७४२ जना घाइते बनाउँदै २२ अर्ब १६ करोड ८७ लाख वरावरको क्षति गर्ने यो दशकका २०५१८ आगलागीका घटनाले हाम्रो जन, धन, वन र जलवायुको भयङ्कर क्षतिलाई ईङ्गीत मात्र गरेको छैन, त्यसले हामीलाई संवेदन, सतर्क र जलवायु जिम्मेवार हुन ढ्याङ्रो ठोकेको छ ।

सत्य छर्लङ्ग छ, पोहोर साल उत्सर्जित कार्वन सञ्चित गर्न हामीलाई ठूलो क्षेत्रफलको स्वस्थ जङ्गल जरुरी पर्दछ । विश्वसामु नेपालले सन् २०३० सम्ममा २३.३९ लाई ३० प्रतिशत संरक्षण क्षेत्र बनाउने सङ्कल्प र सन् २०५० सम्म कार्वन शून्य गर्ने प्रतिज्ञा पूरा गर्न पनि स्वस्थ जङ्गलको अनिवार्य संरक्षण हुन अपरिहार्य छ । यो कवोल गर्ने वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री दुवैजना राष्ट्रिय जहाजको कक्पिटमा रहनु भएकाले उहाँहरु प्रकृति रक्षाको आफ्नो वाचामा नैतिकवान भएर ईमान्दार र सत्यवान रहन अपरिहार्य छ । कार्वन सञ्चिति क्षमता बेजोड बढाएर जलवायु जवाफदेहीता प्रश्तुत गर्न जरुरी छ । विश्वलाई देखाउन होइन, मुलकवासीलाई प्राणघातक विपद् र विनासबाट जोगाउनलाई । किनभने पोहोरको डढेलोले जन धन वनको मात्र क्षयीकरण गरेर चित्त बुझाएन, असोजमा सिंहदरबाकै सामुन्ने वाढीले दर्जनौंको ज्यान लियो । अर्बौंको क्षति गर्‍यो ।

पुस-माघको डढेलोलाई विज्ञहरु राम्रो मान्छन् । यो नियन्त्रित डढेलोको समय पनि हो । निकुञ्ज र विभिन्न वन क्षेत्रका नियन्त्रित डढेलोका आ–आफ्नै विधि र प्रकिया छन् । ती डढेलोलाई चैत्र वैशाख कुर्नु हुँदैन र नियन्त्रण बाहिर जान दिनु हुँदैन ।

विज्ञ होईन, अध्येता अनुसन्धाताको हैसियतले डढेलो नियन्त्रणको लािग केही सुझाव राख्ने जमर्को गरेको छु ।

चीफ वार्डेन रमेश थापा र संरक्षण कमाण्डर प्रसे राजेन्द्र पन्तको पालामा बर्दिया राष्ट्रिय निकुञ्ज शून्य धुवाँ वर्ष बन्याे । नियन्त्रित डढेलो लगाएर घाँसे मैदानहरु हरियाली बनाइए । त्यो बाहेक धुवाँ देख्यो की शीघ्र पुग्ने मोबाइल फायर फाइटर टोली खडा गरेर निकुञ्जमा धुवाँ पुत्पुताउन दिएनन् । ८ वर्षअघिको असल अभ्यास ।

त्यही निकुञ्जमा एउटा आगलागीमा ५ हजार स्थानीय घरघरबाट गाग्री र बाल्टिन लिएर स्वस्फूर्त पुगे र छिनमा आगो निभाए । अर्को असल अभ्यास । त्यही निकुञ्ज पोहोर साल दनदनी जल्यो । सवै कानमा तेल हालेर निश्क्रिय भई रमिते भएर धुवाँ पिउँदै बसे । खराब नजिर ।

नेपालको अक्सिजन भण्डार निकुञ्जहरुलाई रमेश/राजेन्द्र पालाको डढेलो शून्य मोडलमा लैजान नेपाली सेनाको अगुवाई र संयोजन हुन जरुरी छ । सेना, सशस्त्र र नेपाल प्रहरीको तैनाथीलाई सूचना सम्वाहक, सचेतना प्रशिक्षक र डढेलो नियन्त्रण अगुवा वा संयोजक बनाउने एकीकृत सङ्कल्प र संयुक्त प्रयास जोडदार कामयावी हुनेछ । वातावणीय सेवा र विपद् व्यवस्थापन कसैको लिखित मौखिक आदेश जरुरी पर्दैन । नेतृत्वको शून्य डढेलोको सङ्कल्प र उर्दी जारीले पुग्छ ।

वर्तमान र भविष्यका डढेलोहरु कल्पना बाहिरको शक्तिशाली हुने छन् । र, धेरै गुना छिटो र टाढा फैलिने छन् । नियन्त्रण असम्भव हुनेछ । तसर्थ, हाम्रो भिरालो र विकट भूगोल, श्रोतसाधनको अभावलाई डढेलो लाग्नै नदिने प्रतिरोधात्मक उपाय (प्रिभेन्टिभ मेजर्स) अपनाउनु सर्वोत्तम हुनेछ । यसका लागि ब्यापक सर्भिलेन्स र निगरानी जरुरी हुनेछ । डढेलो लागिहालेमा शुरुमै नियन्त्रणमा लिन सम्पूर्ण शक्ति लगाउनु बुद्धिमानी हुनेछ । अपवादवाहेक नेपालका सतप्रतिशत डढेलो मानव सिर्जित भएकाले स्थानीय तहमै सचेतना कार्यक्रम, प्रचार–प्रसार र तालिम, सभा–गोष्ठी संचालन गर्न सम्बन्धित निकाय (डिभिजन वन कार्यालय) लाई आग्रह र सहयोग गर्नुपर्दछ । अग्निपथ निर्माण र सफाई, वन व्यवस्थापन र सफाई, इन्धन सामग्री हटाउने, डढेलो बार लाउने, हरित पेटी निर्माण गर्ने, प्रजातीय फेरबदल गर्ने, नियन्त्रित डढेलोको काम सम्पन्न गराउने र कडाईका साथ दण्ड पुरस्कार नीतिको अवलम्वन गर्ने प्रतिरोधात्मक कामहरु हुन् । डढेलोसँग जुध्ने तालिम र श्रोत साधनको जुगाड, पूर्वतयारी पूरा गरेर आत्मविश्वास जगाएर बस्नु वान्छनीय हुनेछ ।

औसत १ सय हेक्टर क्षेत्रफलमा १ सय घरघुरी लिएर फैलिएका २४ हजार सामुदायिक वनले हरेक सामुदायिक वनमा २ सेट पीपीई र १० जनालाई आगो निभाउने तालिम दिँदा तुरुन्त २ लाख ४० हजार फायर फाइटर तयार गर्न सकिन्छ । जुन सम्भव छ । समुदायस्तरको डढेलो नियन्त्रण सङ्कल्प, पहल र प्रयास सवैभन्दा असरदार रामवाण अस्त्र हो ।

डिएफओको नेतृत्वमा हरेक जिल्लामा ५० जना सेना, २५ जना सशस्त्र प्रहरी र २५ जना नेपाल प्रहरी, १ सय जनाको तालिम प्राप्त प्रतिवद्ध चुस्त अग्नि नियन्त्रण टोली स्ट्याण्डवाई राखिनु पर्दछ । हरेक डिभिजन र सवडिभिजन वन कार्यालयले फायर हजार्ड म्याप वनाई सुरक्षा निकाय र सामुदायिक वनलाई उपलब्ध गराउनु पर्दछ र नियन्त्रण फायरको तालिम, अभ्यास, रिहर्सल गरेर फायर फाइटिङ्ग क्षमता अभिवृद्धि गरेर तम्तयार बस्नुपर्दछ ।

डढेलो अवधिभरि हरेक डिभिजन वन कार्यालयलाई एउटा अतिरिक्त सवारी साधन २ वटा अतिरिक्त मोटरसाईकल र डढेलो लागेमा चाहिए जति बस ट्रक भाडामा लिन सक्ने तथा विमा एवम् खाजा भत्ताको बजेट विनियोजन गरेर हौसला र मनोवल बढाई दिन जरुरी छ ।

डढेलो शून्य गर्ने निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, सामुदायिक वन र जिल्ला डिभिजन वन कार्यालयलाई कदर र पुरस्कारले सम्मान गर्न कन्जुस्याईं गर्नु हुँदैन ।

अन्त्यमा, डढेलो ठूलो प्राकृतिक अपराध हो र यसलाई अक्षम्य आतङ्क भनेर पुनर्परिभाषित गर्न जरुरी छ । जन आक्रोश, प्रतिशोध, अतिक्रमण दुर्नियत डढेलो भएर आउनु ज्यादै दु:खद् छ । प्रकृतिको विरुद्धमा छ ।

नेपाल भूराजनीतिक चपेटामा मात्र होईन छिमेकीहरुको डढेलो र धुवाँ–धुलो, प्रदूषण तथा प्राणघातक कार्वन चपेटामा जीउन बाद्य छ । ३४/३५ सालको तिव्वतबाट हाम फालेर नेपालमा सल्केको डढेलो होस् वा भारतबाट उक्लिने आगोको लप्काले ल्याउने डढेलोको जोखिम होस् नेपाल अतिरिक्त चनाखो, सावधान र पूर्वतयारीका साथ रहन जरुरी छ । राजनीतिक, आर्थिक, कुटनीतिक डढेलोले ध्वस्त नेपालसंग प्राकृतिक डढेलो सहन गर्ने सामथ्र्य छैन ।

शून्य डढेलो राष्ट्रिय नारा, राष्ट्रिय सङ्कल्प हुने हो र तदनुसारको टिमविल्डङ्ग, तालिम, अभ्यास, तयारी र टिमवर्क हुने हो भने डढेलो शून्य गर्न सम्भव छ । डढेलो र विपद् राष्ट्रिय एकताको सुवर्ण अवसर पनि हो भन्ने कुरालाई राष्ट्रिय सुरक्षाको खम्वा नेपाली सेनाले मनन गर्न र तदनुसारको टिमविल्डिङ्ग पहलकदमी लिन जरुरी छ । किनभने वर्तमान अवस्थामा राज्य, सत्ता र सरकार निरीह छ ।

बिडम्वना सरकार विचौलिया र दलालको वन–जंगल, नदी तथा समग्र प्रकृति विनाशको पथमा लतारिरहेको छ । तसर्थ, विपद् अनुगमन र नियन्त्रणको लगाम, जिम्मेवारी र अगुवाई अव स्वस्फूर्तरुपमा नेपाली सेनाले लिनुपर्दछ । हरेक सिपाही कुशल अग्नि नियन्त्रक र उद्धारकर्मी हुन जरुरी छ । र, हरेक विद्यार्थी, शिक्षक, नागरिकलाई प्रकृति रक्षक, सहायक अग्नि नियन्त्रक र उद्धार सहायक बनाउन आवस्यक छ । तव मात्र यो प्राकृतिक स्वर्गको रक्षा कल्याण सम्भव हुन्छ ।

(लेखक प्रकृति संरक्षणकर्मी हुन्)