
गण्डकी। गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ । योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको हो ।
आज एक कार्यक्रमका बीच यस कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकमा प्रविष्ट हुने योजनाको प्राथमिकता निर्धारण र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्न सहज हुने गरी योजना बैंक सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ ।
आजै भएको प्रदेश र स्थानीय तहबीच योजना साझेदारी विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमबारे जानकारी लिनुभएको थियो । कृषि र पर्यटन केन्द्रित साझेदारी कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना र युवा पलायन रोक्ने गरी भूमिका खेल्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
लागत साझेदारीमा प्रतिफल देखिने खालको योजना बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रूपमा केही योजना सञ्चालन गरिने बताउनुभयो । रासस