७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातका कारण टनेलमा क्षतिः राहत नपाउँदा किसान मर्कामा



अ+ अ-

गलकोट । हिमपातका कारण तरकारीमा क्षति पुर्‍याउँदा बागलुङका किसानलाई रु १५ लाख ४० हजारको नोक्सानी भएको छ । गत माघ २१ गते भारी हिमपातका कारण किसानले ७० टनेलमा लगाएको तरकारी नष्ट हुँदा सो मूल्य बराबरको नोक्सानी भएको हो । 

हिमपातले किसानको प्लास्टिक टनेलमा व्यापक क्षति पुर्‍याएको गुनासो आएपछि कृषि ज्ञान केन्द्र बागलुङले सङ्कलन गरेको तथ्याङ्क अनुसार बागलुङको उच्च पहाडी क्षेत्रमा किसानले निर्माण गरेका ७० टनेलमा क्षति पुर्‍याउँदा रु १५ लाख ४० हजार नोक्सानी भएको छ ।

आधुनिक तरकारी खेतीका लागि किसानले विभिन्न स्थानमा निर्माण गरिएको ७० टनेलमा क्षति पुर्‍याएको थियो । अन्य खेतीलाई भने हिमपातले राम्रो गरेको केन्द्रले जनाएको छ । बाक्लो हिमपात थेग्न नसकेर किसानले स्थापना गरेको प्लाष्टिक टनेलमा क्षति पुर्‍याएको र टनेल मर्मतका लागि राहत दिनका लागि पहल भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो ।

“सानो हिमपातले त किसानलाई फाइदै पुर्‍याउँछ, गहुँ जौको उत्पादनमा वृद्धि गराउँछ तर यस पटक बागलुङको उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ”, उहाँले भन्नुभयो “हिमपातले अन्य बालीलाई राम्रो गरेपनि प्लाष्टिक टनेलमा क्षति पुर्‍याएको छ, टनेल मर्मतका लागि प्लाष्टिक दिने योजनामा छौं, टनेलसंगै त्यसभित्रका टमाटरलगायतका तरकारीमा समेत क्षति भएको छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार एउटा टनेलमा झण्डै २२ हजार मूल्य बराबरको क्षति भएको अनुमान छ । हिमपातका कारण सबैभन्दा बढी क्षति ढोरपाटन नगरपालिकामा किसानले निर्माण गरिएको टनेलमा भएको छ । सो नगरपालिकामा ४५, ताराखोला गाउँपालिकामा ५, तमानखोला गाउँपालिकामा ५, काठेखोला गाउँपालिकामा ५ र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत जिल्लाभरका १० टनेल गरी कूल ७० टनेलमा क्षति पुर्‍याएको हो ।

डायमण्ड कृषि फार्मका सञ्चालक तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामणि छन्त्यालले आफ्नो फार्ममा रहेका दुई हाइटेक प्लास्टिक टनेलमा क्षति पुर्‍याएको जानकारी दिनुभयो । अधिकांश क्षेत्रमा टनेलको प्लास्टिक च्यातिएको र बीचको डण्डी हिमपातका कारण भाँच्चिएको छ । कृषि ज्ञान केन्द्रले तत्कालै राहत दिन नसकेपनि अनुदानमा प्लास्टिक दिने योजना रहेको जनाएको छ ।

नपसाएको गहुँ, जौं र आलु खेतीमा हिमपातले राम्रो गरेका कारण उत्पादन बढ्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । हिमपातले टनेल बाहेकका अन्य बालीको उत्पादन बढाउन सक्ने बताइएको छ । हिमपातका कारण उच्च पहाडी भागका जग्गामा राम्रो सिँचाइ पुगेको छ । ज्ञान केन्द्रका अनुसार वर्षाका कारण पानीले क्षति पुर्‍याएको धानबालीका किसानलाई राहत दिनसमेत अहिले समस्या भएको छ ।

विसं २०७८ असोज ३१ पछिको वर्षाले गलकोटमा ५६० हेक्टर जग्गाको धानमा आंशिक क्षति भएको थियो भने जिल्लाभर रु एक करोड ४८ लाख बराबरको धानबालीमा नोक्सान भएको अवस्था भए पनि कार्यविधिको असहजताका कारण किसानलाई राहत दिन समस्या भएको ज्ञान केन्द्र बागलुङले जनाएको छ । “तत्कालै अनुगमनमा समस्या भयो, पानी बसेपछि किसानले धान उठाए, तर कार्यविधिमा वडा र पालिकाको सिफारिस तथा अनुगमन गरेको खुल्न आवश्यक छ”, केन्द्रका प्रमुख ढकालले भन्नुभयो, “लालपूर्जा, खेतीको विवरण तथा सिफारिसलगायतका झन्झटिलो प्रक्रियाले किसान राहत लिन नआएको पाइएको छ, कार्यविधि बाहिर गएर राहत दिन हामीलाई समस्या छ ।”