पेरिसः फ्रेन्च ओपनमा महिला तर्फको एकल प्रतिस्पर्धामा यसपटक पोल्यान्डकी किशोरी इगा स्वाइटेकले हात पारेकी छिन् । उनी महिला तर्फ फ्रेन्च ओपन जित्ने पहिलो पोलिस महिला खेलाडी हुन् ।
रोलाँ ग्यारोसमा शनिबार भएको फाइनलमा उनले पाँचौं वरियताकी अमेरिकी खेलाडी सोफिया केनिनलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरिन् । इगाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।
विश्व वरियतामा समेत नपरेकी इगाको उमेर १९ वर्ष मात्र छ । उनी यो विजयसँगै विश्व वरियतामा १७ नम्बरमा उक्लेकी छिन् । आफूले राफायल नाडालले हरेक पटक उपाधि जितेको देखेर कुनै दिन आफू पनि यस्तै उपाधि जित्ने सपना देख्ने गरेको उनले बताइन् ।
आइतबार पुरुष एकलतर्फ दुई धुरन्धर टेनिस खेलाडीहरु राफायल नाडाल र नोभाक जोकोभिच बीच प्रतिस्पर्धा हुँदैछ ।

एजेन्सी










