१४ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ औँ कार्यपालिका बैठकः ‘एग्रो पुलिङ् कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’, २०८१ कार्यपालिकाबाट स्वीकृत



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ् कार्यविधि’ र ‘लहरेवत्ती व्यवस्थापन कार्यविधि २०८१’ स्वीकृत गरेको छ । आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले कार्यविधिहरु स्वीकृत गरेको हो ।

एग्रो पुलिङ् महानगरपालिकाको स्वर्णिम योजना हो । अन्य पालिका र साझेदारसँगको सहकार्यमा महानगरबासीलाई गुणस्तरीय, स्वच्छ, ताजा खाद्यान्न तथा कृषिजन्य उत्पादन उचित मूल्यमा उपलब्ध गराउन उत्पादन तथा विक्री वितरण गर्ने व्यवस्था कार्यविधिमा समेटिएका छन् ।

कार्यविधिअनुसार महानगरपालिकाले कृषि उत्पादनका पकेट क्षेत्र पहिचान गरिएका स्थानीय तहसँग अर्गानिक खाद्यबस्तु उत्पादन गर्ने र वितरणका लागि महानगरपालिकाभित्रका कृषि सहकारी वा कम्पनीसँग सम्झौता गर्नेछ । महानगरपालिका आफैँले कम्पनी खोल्न सक्ने कार्यविधिमा व्यवस्था छ । उत्पादकले गुणस्तरीय खाद्यान्न उत्पादन गर्ने, गुणस्तर परीक्षण गर्ने र महानगरपालिकामा भएको वितरकसम्म ढुवानी गर्ने काम गर्नेछ ।
उत्पादन, प्रशोधन तथा ढुवानीमा लाग्ने खर्च सम्बन्धित पालिकाले स्वीकृत गरेको दरमा गर्नुपर्नेछ । महानगरपालिकाले ‘प्रविधि’, ‘अनुदान’, ‘जनशक्ति’ र ‘भौतिक सामान’ सहयोग उपलब्ध गराउने सक्नेछ ।

पकेट क्षेत्रमा उत्पादन हुने बस्तुलाई विभिन्न ८ समूहमा बाँडिएको छ । त्यस समूहमा गुण मिल्ने अन्य खाद्यबस्तु समावेश हुन सक्ने व्यवस्था छ । यसअनुसार चामल, गहुँ, मकै, कोदो फापर एउटा समूहमा छन् । मास, मुसुरो, रहर र मुङ दाल दोस्रो समूहमा छन् । तेस्रो समूहमा सिमी, भटमास, गहत र बोडी राखिएको छ । आलु, तरुल, पिँडालुजस्ता खाद्यान्न चौथो समूहमा छन् । लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, टिमुर पाँचौँ समूहमा छन् । छैटौँ समूहमा तेल, घिउ र दुग्धजन्य पदार्थ छन् । माछा, अण्डा, कुखुरा, खसी र राँगाको मासु सातौँ समूहमा छन् । मौसमी हरियो तरकारी र फलफुल आठौँ समूहमा राखिएको छ । यी खाद्यान्न उत्पादन हुने ठाउँ पकेट क्षेत्र हुन सक्नेछन् ।

वितरकले महानगरपालिकाले स्वीकृत गरेको दररेटमा सामान विक्री वितरण गर्नेछ । खाद्यान्न भण्डारण गर्ने, गुणस्तर परीक्षण गर्ने, प्याकेजिङ् गर्ने, लेवलिङ्ग गर्ने र विक्री वितरण गर्ने काम वितरकको हुनेछ । यसबाट किसानहरुले उचित मूल्य पाउने र उपभोक्ताले गुणस्तरीय खाद्यान्न प्राप्त गर्ने अवस्था सुनिश्चित हुनेछ ।

यसको व्यवस्थापन गर्न सहकारी, कृषि तथा पशुपन्छी समितिका संयोजकको संयोजकत्वमा ५ सदस्यीय निर्देशक समिति गठन हुनेछ । समितिले क्षेत्रगत सर्त, सहयोगलगायतका काम कार्यपालिकासँग उत्तरदायी भएर काम गर्नेछ ।

लहरे बत्ती व्यवस्थापन कार्यविधिबमोजिम सजावट वा सुन्दरताका लागि कुनै पनि बोट विरुवामा लहरे बत्ती राख्न पाइँदैन । अन्य व्यावसायिक तथा सार्वजनिक स्थानमा वत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्नेछ । सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरुको बास, आहार तथा आवतजावतमा पार्ने नकारात्मक असर घटाउने विषयहरु कार्यविधिमा समेटिएका छन् । कार्यविधिले जात्रा पर्वमा प्रयोग गरिने बत्तीहरु बढीमा ७ दिनसम्म राख्न सकिने व्यवस्था गरेको छ ।

बैठकले ५ वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । यसरी सहमति प्राप्त कार्यविधिहरु ‘कोसेली घर सञ्चालन तथा व्यवस्थापन कार्यविधि’, ‘स्वरोजगार नगरबासी सम्बन्धी कार्यविधि’, ‘उद्यमशीलता, व्यवसाय इन्कुवेसन केन्द्र, प्रविधि अनुसन्धान, नवप्रवर्तन केन्द्र तथा कोष सञ्चालन कार्यविधि’, र ‘एग्रो पुलिङ् कार्यविधि’ हुन् । यस्तै ‘राष्ट्रिय सभा गृह सञ्चालन तथा व्यवस्थापन निर्देशिका’, ‘बाल कोष सञ्चालन मापदण्ड’ तर्जुमा गर्न, ‘नेपाल भाषा पाठ्यक्रम तथा स्थानीय पाठ्यपुस्तकहरुमा समसामयिक संशोधन तथा परिमार्जन’ ‘कल सेन्टर (सम्पर्क केन्द्र) सञ्चालन निर्देशिका, २०७९’ संशोधन गर्न सैद्धान्तिक सहमति प्राप्त भएको छ ।

महानगर सञ्चार प्रतिष्ठान गठन गर्नका लागि कार्यपालिकाले तोक्नु पर्ने १ जना महिलासहित २ जना सदस्यका विषयमा छलफल गर्दै इच्छुक नगर सभाका सदस्यहरुलाई ७ दिनभित्र सूचना प्रविधि समितिमा इच्छा प्रकट गर्न आव्हान गरिएको छ ।

वैठकमा विषयगत समितिका संयोजकहरु नविन मानन्धर, ख्यामराज तिवारी, रामजी भण्डारी, आशामान संगतले प्रस्ताव पेश गर्नुभएको थियो । यस्तै राजस्व समितिका तर्फबाट विभागीय प्रमुखहरु दिपक अधिकारी, सामाजिक समितिका तर्फबाट समीक्षा निरौला, स्वास्थ्य तथा शिक्षा समितिका तर्फबाट गोविन्दप्रसाद शर्मा र दिपक के. सी., योजना अनुगमन तथा मूल्याङ्कन एकाइका तर्फबाट वसन्त आचार्य र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका तर्फबाट बलराम त्रिपाठीले प्रस्ताव पेश गर्नुभएको थियो ।

पेश भएका प्रस्तावहरुमा कार्यपालिका सदस्यहरु सुमन श्रेष्ठ, मचाराजा महर्जन, विमलकुमार होडा, दलबहादुर कार्की, सरोज ढकाल, इश्वरमान डंगोल, बालकृष्ण महर्जन, मीना सिंह, मैयाँलक्ष्मी महर्जन र उदयचुडामणि बज्राचार्यले सुझाव तथा धारणा राख्नुभएको थियो ।