काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो । बालबालिकाका संगठनहरु, बालबालिकाका लागि स्थानीय तथा प्रदेश सरकारले बनाएका ऐन र तिनको कार्यान्वयनको अवस्था लगायत विषयमा अध्ययन गर्न समितिले स्थलगत भ्रमण गर्न लागेको समिति सभापति तुलसाकुमारी दाहालले बताउनु भयो ।
उहाँकाअनुसार समितिले स्थानीय तहहरुमा संगठित भएका बालबालिकाहरुसँग क्लवहरु विभिन्न जाती, भाषा र लिङ्गको आधारमा छन् कि छैनन् भने छुट्टै छलफल गर्नेछ । समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरुले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरुसँग छलफल गर्ने सभापति दाहालले बताउनु भयो । उहाँले कोशी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस प्रदेशमा मधेसी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा छलफल भयो भ्रमण गर्ने तालिका राखेका छौं । दुई ठाउँमा हामीले स्थलगत भ्रमणको कुरा राखेका छौं । कोसी र मधेस प्रदेशमा र लुम्बिनी र कर्णाली प्रदेशमा प्रदेशमा अनुगमन गर्ने कार्यतालिका बनाएका छौं । भ्रमणमा हामी विषेश गरी तीन वटा विषयमा केन्द्रित रहनेछौं । एउटा हामी बालबलिकासँग छुट्टै छलफल गर्छौं । स्थानीय तहहरुमा संगठित भएका बालबालिकाहरुसँग क्लव विभिन्न जाती, भाषा, लिङ्गको आधारमा बनेको छ कि छैन ?र बालबालिकाको स्थिति के छ भनेर स्थानीय तहमा छलफल गर्छौं ।’
‘त्यहाँका स्थानीय सरकारसँग पनि हामी छलफल गर्छौं । जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुखहरु र महिला बालबालिका शाखा हेर्ने सरोकारवालाहरुसँग छलफल गर्छौं । बालबालिकाको नेटवर्कका लागि स्थानीय सरकारहरुले बनाएको ऐनको विषयमा पनि हामी अध्ययन गर्नेछौं । त्यस्तै प्रदेश सरकारले बालबालिका सम्बन्धी कस्तो नीति बनाएको छ ? र त्यो नीतिको कार्यान्वयनको अवस्था के छ ?भनेर बाल सहभगिताको विषयलाई हामी अध्ययन गर्छौं । अध्ययनका क्रममा हामी पत्रकारहरु, त्यो क्षेत्रका विज्ञहरु र सम्बन्धित मन्त्रालयका मन्त्रीहरु र महिला तथा बालबालिका समितिहरुमा समेत छलफल र अध्ययन गर्नेछौं । खासगरी एकल अधिकारको सूचि र साझा अधिकारको सूचिका लागि कस्ता कस्ता ऐनहरु उहाँहरुले निर्माण गर्नुभयो र ति ऐनहरुको कार्यान्वयनको अवस्था के छ ? र त्यसमा बालबालिकाको सहभागिताको कुरालाई हेर्नेछौं । कोशी प्रदेशमा खासगरी मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस समुदायको बालबालिकाको अवस्था पनि हामी अध्ययन गर्नेछौं ।’
समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणको लागि भ्रमणमा जानेछन् । कोशी तथा मधेस प्रदेशको स्थलगत भ्रमणमा जने टोलीले विराटनगर, जनकुपर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लवहरुसँग छलफल गर्नेछ । यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरुले नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ । भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताउनु भयो ।