काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज बेलुकी कास्कीबाट काठमाडौं ल्याइने भएको छ ।
लामिछानेलाई आज बेलुकी ५ बजे जहाजबाट ल्याउन लागिएको प्रहरी स्रोतले बतायो । लामिछानेलाई आज बिहान ८ बजे ल्याउने तयारी थियो । तर, बिहान ल्याउँदा काठमाडौंमा प्रदर्शन हुन सक्ने भयले टिकटलाई बेलुका सारिएको स्रोतले बतायो ।
पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
बयान सकिएपछि उनलाई पुन: कास्की नै लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।