२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समय



अ+ अ-

उसले भन्यो –

मैले जिन्दगीमा

केही वर्ष

घडी बाँधें

तर समय

मैले चाहेजस्तो बनाउन सकिनँ

न त दौड्न सकेँ

समयसँगै

दिनमा जतिपटक हातको घडी हेरे पनि ।

थप्यो –

घडी बिग्रेपछि

बनाउन गइनँ

ब्याट्रीको चोला सकिएको रहेछ

घडी नै बिग्रेको बहाना बनाएँ

र, थन्क्याएँ त्यसलाई

थोत्रो, खिया लागेको कन्तुरमा ।

घडी थन्क्याए पनि

समयले

ममा कुनै प्रभाव पार्न सकेन

न त मैले सकेँ

समयलाई थन्क्याउन

घडीसँगै त्यही कन्तुरमा ।

ऊ भन्दैगयो –

एकाध पल

एकाध घडीले

मेरो हातको नाडी छामे त्यस यता

सायद तिनले नापे होलान्

मेरो मुटुको चाल

नाडीमा बाँधिँदै गर्दा सायद

पुलुक्क हेरे होलान्

मेरा हत्केलाका

अनिश्चित, भविष्यहीन

हस्तरेखाहरू ।

र,

कहिल्यै फर्काएनन् तिनले आफ्नो सास

दौडेर

खिचापोखरी-प्युखाका

उपचार केन्द्र

जतिपटक घुमाए पनि ।

उसको गन्थन कता पुग्यो थाहा भएन ।

मलाई भने

समयका प्रश्नले लखेटिरहे –

घडी बाँध्दैमा

समय रोकिन्छ र ?

घडी हेर्दैमा

समयले

थाहा पाउँछ र ?

घडीका सुई

आफू एउटै परीधिमा घुमेर

समयलाई कसरी

चुपचाप नेटो कटाउँछन् होला ?

घडीका सुईसँगै फन्फनी घुम्नुपर्ने समय

एकनाश अगाडि मात्रै बढ्छ किन –

एक पल पछाडि नहेरी ?