काठमाडौँ। विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कैदीबन्दी, ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ ।
समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले ललितपुरस्थित नख्खु कारागार, सुकेधारास्थित एजिङ केयर सेन्टर र गोकणेश्वरस्थित चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कूल दुई हजार ८२३ जनाको आँखा परीक्षण गरेको हो ।
नख्खु कारागारमा तीन दिनसम्म सञ्चालित शिविरमा ९०७ कैदीबन्दीको आँखा परीक्षण गरी २० जनालाई थप उपचारको सिफारिस र १४६ जनालाई चस्मा र औषधि निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ ।
यस्तै सुकेधारास्थित एजिङ केयर सेन्टरमा ८४ जना ज्येष्ठ नागरिक, चामुण्डा माध्यमिक विद्यालयमा ९५४, बुद्ध प्रकाश माध्यमिक विद्यालयमा १३६ र जलुपा माध्यमिक विद्यालयमा ७४२ जनाको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधि वितरण गरिएको छ । रासस








