४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

अभिनयमा नयाँ परिचय खोजिरहेका विजय

अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
अ+ अ-

काठमाडौँ । झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो ।

चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनु भएका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उहाँलाई कुनै सहायक भूमिका लागि नभई शीर्ष भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी ।

सो प्रस्तावले विजय सुरुमा त अन्योलमा पर्नुभयो । केही दोधारको अवस्था भयो उहाँलाई । झण्डै दुई सातासम्म उहाँले प्रस्तावमाथि कुनै ठोस निर्णय गर्नुभएन । आफैँलाई मन्थनुभयो ? आफूभित्रको अभिनेतालाई प्रश्न गर्नुभयो । ‘‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिन’’, उहाँले सम्झना गर्दै भन्नुभयो, ‘‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशीसहितको शुन्यता ।’

यति भन्दैगर्दा उहाँ आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौँ आउनुभएको समयस्मृतिमा पुग्नुभयो । विजयका अनुसार काठमाडौँ छिर्दा उहाँसँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए । काठमाडौं आउँदा उहाँलाई लाग्थ्यो उहाँ त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्किनु हुनेछ, कडा बन्नु हुनेछ ।

सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गर्नुहुन्थ्यो । कक्षा आठमा उहाँले पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा पस्कनुभयो । त्यतिबेला उहाँले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गर्नुभएको थियो । चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइहरूले उहाँको धेरै प्रशंसा गरे ।

‘‘मेरो नाच ९आवाजको नक्कल देखेर साथीहरूले ओहो १ राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उहाँले पूराना दिनहरू ताजा गर्दै सुनाउनुभयो । जब उहाँ रङ्गमञ्चतर्फ मोडिनुभयो तब उहाँले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाउनुभयो । उहाँलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो ।

‘‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ ।’’, केही गम्भीर हुँदै उहाँले भन्नुभयो । उहाँ आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्नुहुन्छ । ‘‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ ।’’

भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उहाँ बताउनुहुन्छ । त्यो कार्यशाला उहाँका लागि जीवनको कोशेढुङ्गा हुनपुग्यो । त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्नुहुने एमके रैनाबाट उहाँ प्रशिक्षित हुनुभयो । ‘‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ । समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ । सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँबाट बल्ल मेरो चेत खुल्यो’’, उहाँले भन्नुभयो ।

बीचमा उहाँको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो । उहाँको बुबा बैंकको जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिराख्नु भएको थियो । यद्यपि बुबाले भने उहाँलाई यही बन्नुपर्छ भन्नुभएको थिएन । बुबाले केही नभन्नुभएको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहनुहुन्थ्यो । हजुरबुबा विजयलाई भन्नुहुन्थ्यो–‘‘जागिर गर है जागिर गर, पछि गाहे हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’’

उहाँले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिदैं आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराख्नुभयो । यो समयमा कयौं नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाउनुभएको थिएन । उहाँले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाउनुभएन तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाउनुभयो । उहाँ छोराको कामबाट खुशी हुनुभयो ।

अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन । ‘‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उहाँले थाहा पाउनुभएन । पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन । उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भन्नुभयो ।

‘कबड्डी’ पछि उहाँ त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसक्नुभएको छ भने आजको मितिमा उहाँ नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसक्नुभएको छ । उहाँले अधिकांश सहायक भूमिका नै गर्नुभयो । सबैभन्दा बढी चर्चा उहाँले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुल्नुभएको छ । उहाँ सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित हुनुहुन्छ । ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त भइराख्नु भएका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउनुहुन्छ ।

यो चलचित्रमा उहाँ एकल बाबुको पात्र भूमिकामा देखिदै हुनुहुन्छ । उहाँ पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्कनुभयो । सहायक भूमिका उहाँलाई सजिलो लाग्छ । तर यो चलचित्रको भूमिका फरक र गम्भिर छ । शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उहाँमाथि नै छ । यसका लागि धेरै मिहेनत परेको सुनाउनुहुन्छ ।

चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गर्नुभयो । यो १० दिनमा उहाँले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गर्नुभयो । उहाँले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिक्नुभयो । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्ना लागि आफूले यस्तो गरेको उहाँको भनाइ छ ।

‘‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उहाँले भन्नुभयो ।

आज उहाँ स्वयं आफू कसैको छोरा त हुनुहुनै हुन्छ त्योसँगै आफू पनि एक सन्तानको बाबु बनिसक्नुभएको छ । यसको अनुभवलाई पनि उहाँले पर्दामा प्रयोग गर्नुभएको छ । अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ । ‘‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’’, उहाँले भन्नुभयो ।

उहाँ आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्नुहुन्छ । ‘‘अहिले म बुबाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो । अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरो जस्तै भएको छु । म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो’’, उहाँले भन्नुभयो ।

आज बुबाको सबै भावना उहाँलाई महशुस हुन्छ । उहाँ भन्नुहुन्छ– ‘‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ । बरालका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ ।’’

उहाँ बुबा घुमघाममा रुचि राख्नुहुन्छ । त्यसैले विजय धेरै कुरा पूरा गर्न नसके पनि घुम्ने कुरालाई आफैँ बुझ्दै पूरा गर्ने प्रयास गर्न लागिरहनुभएको छ । बुबालाई आजकल गहिरिएर बुझ्न थालेदेखि विजयले बाबुहरूले सन्तानसँग आफ्ना व्यक्तिगत रहरहरू मुख खोलेर भनिनहाल्ने गरेको थाहापाउनु भएको छ । ‘‘मैले केही समय उहाँका रहरहरू सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोद्थ्यौं र रु’’, विजयले आफ्ना बाबुले भन्नुभएको कुरा सम्झनुभयो ।

‘‘उहाँको जवाफले बाबुहरू चाहीँ आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहाना राख्नुहुँदो रहेछ, भलै उहाँहरू त्यसका लागि आफैँ सक्षम हुनुहोस् । बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षा चाहीँ भइराख्ने रहेछ’’, विजयले भन्नुभयो, ‘‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ । नबुझ्दा दुःख मान्नुहुँदो रहेछ । तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदोरहेछ । अब चाहीँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु । बाबुको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु ।’’

आफ्नो चलचित्रले छोराहरूमा यही भावना जागृत गराउन उहाँको विश्वास छ । ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटी बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ । बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ’’, उहाँले भन्नुभयो, ‘‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ । बाबुसँग सम्बन्ध खुलेर जान्छ । हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ ।’’

चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्नुभएको हो भने चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्रप्रति विजय एउटा कलाकारका रुपमा निक्कै आशावादी हुनुहुन्छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उहाँको आशा छ ।