२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा व्यावसायिक फूलखेती फस्टाउँदै



अ+ अ-

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थाल्नुभएको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उहाँको अनुभव छ ।

जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या छजना भन्दा बढी भएका छन् । उनीहरु व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन् । मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा फूलको प्रयोग बढेपछि माग बढेको चर्तिमगर बताउनुहुन्छ ।

“फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो”, उहाँले भन्नुभयो, “यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ ।”

विन्दुले पाँच वर्षअघि १० कट्ठाबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताउनुभयो । स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उहाँको भनाइ छ । ल्याउँदा पनि फूल तथा मालामा अनिवार्य क्वारेन्टिन गरिनुपर्ने उहाँको माग छ ।

खजुरा गाउँपालिका–३ निवासी अरुणा गुरुङले वार्षिक १० देखि १२ क्वीन्टलसम्म सयपत्री फूल उत्पादन गर्दै आउनुभएको छ । सयपत्री फूलखेतीबाट वार्षिक रु पाँच लाख बढी मुनाफा लिने गरेको उहाँले बताउनुभयो ।

कोहलपुर नगरपालिका–३ निवासी विष्णु चौधरी र वडा नं १३ निवासी कर्णबहादुर थापाले पनि व्यावसायिक फूल खेती गर्नुभएको छ । विष्णुले फूल खेतीबाट वार्षिक रु पाँच लाख आम्दानी लिने गरेको बताउनुभयो । सुरुका वर्षमा रहरले फूलखेती गरे पनि हाल आम्दानीको मुख्य स्रोत बनेको उहाँको भनाइ छ ।

सात कट्ठा जमिनमा गरेको फूलखेतीले चौधरीको आर्थिक स्तर उकासेको छ । उहाँले प्रतिकिलो रु पाँच सयको दरले फूल र माला प्रतिगोटा रु एक सय २० मूल्य निर्धारण गर्नुभएको छ ।

जानकी गाउँपालिका–३ इन्द्रपुरको कर्मोनाह निवासी हसिम बागवानले पनि विगत तीन वर्षदेखि एक कठ्ठामा फूलखेती गरेर एक क्वीन्टल फूल उत्पादन गर्दै आउनुभएको छ ।

अधिकांश फूलबारीबाटै बिक्री हुने गरेको उहाँको भनाइ छ । फूल व्यवसायमा लागेका किसानलाई कोहलपुर नगरपालिकाले सिँचाइ र बीउविजनमा सहयोग गरे पनि अन्य स्थानीय तहले फूल व्यवसाय प्रवर्द्धनका लागि सहयोग नगरेको व्यवसायीको गुनासो छ ।