३० आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँड्नु भएको छ ।

उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्नुभएको थियो । उहाँले भन्नुभयो, “वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।”

वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आउनुभएको छ । त्यहाँ सङ्कलित रकमले पनि उहाँले विपन्नका लागि सहयोग गर्नुहुन्छ ।

गत तीजमा उहाँले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गर्नुभएको थियो । उहाँले भन्नुभयो, “तीजमा रु तीन लाख खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु । ”

तिहारमा उहाँको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।”

गत भदौ १५ गते उहाँले आफ्नो जन्मदिनमा रु १८ लाख ६० हजार बराबरको दान गर्नुभएको थियो । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उहाँले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गर्नुभयो । उहाँले भन्नुभयो, “जन्मदिन, तीज, दसैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन ।”

जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उहाँसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उहाँको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि रु एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीय हिमालय स्कुलमा रु २२ लाख, रोटरी करुणालय देवघाटमा रु १५ लाख, गणेशधाम संरक्षणमा रु १५ लाख सहयोग गर्नुभएको छ । यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आउनुभएको छ ।

उहाँले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्नुहुन्छ । वर्षमा रु पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उहाँको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिनुभयो ।

बाग्लुङ नगरपालिका–७ मा जन्मिनुभएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आउनुभएको छ । उहाँले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ ।”