२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर



ÕW
अ+ अ-

लेखनाथ । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुट्नु भएको छ ।

उहाँले फेवाताल किनारमा २०१५ सालदेखि निरन्तर ४० वर्षसम्म पिङ निर्माण गर्नुभएको थियो । बुद्धिबहादुरकै नेतृत्वमा यतिबेला पोखराको फेवाताल किनारमा पिङ राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई दसैँको मनोरञ्जन प्रदान गरिएको छ । केही दशकयता उक्त स्थापनमा रोकिएको पिङ निर्माणलाई उहाँ संयोजक बनेर यस वर्ष पिङ निर्माण गरिएको हो ।

विसं २०१५ वर्षदेखि बुद्धिबहादुर नेपाली, अक्कलबहादुर भुजेल र बाबुलाल श्रेष्ठ मिलेर पर्यटकीय स्थल फेवातालको बाराही घाट नजिकैको चौरमा चम्रेली, रिङ्गटे, लठ्ठे र जाँचे पिङ राख्नु हुन्थ्यो ।

विभिन्न कारणले केही दशकदेखि रोकिएको उक्त पिङ यस वर्ष फेरी निर्माण गरिएको छ । त्यतिबेला पिङ राख्ने तीनजनामध्ये हाल बुद्धिबहादुर मात्र जीवित हुनुहुन्छ । उहाँहरुले निरन्तर पिङ राखेर बैदामवासीलाई मनोरञ्जन प्रदान गर्दै आउनुभएको थियो । तर फेवालात किनारमा पिङ राख्ने काम २० वर्षदेखि बन्द हुँदै आएको थियो ।

बन्द भएको कामलाई निरन्तरता दिन बुद्धिबहादुरको संयोजकत्वमा पिङ निर्माण समिति गठन गरी यस वर्ष बाराही घाटमा पिङ राखिएका छन् । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उहाँले आफ्नै घरमा भएका पिङ सामग्री झिकेर ल्याई पिङ राख्नु भएको हो ।

“पिङका सामग्री मेरो घरमा बीस वर्षदेखि त्यसै थन्किएर बसेका थिए । यस वर्ष प्रयोगमा आए,” उहाँले भन्नुभयो । यस वर्ष पिङ निर्माणमा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पनि चासो देखाउनुभएको बुद्धिबहादुरले बताउनुभयो ।

गाउँमा पिङ निर्माण भएपछि केटाकेटी खुसी हुनाका साथै दसैँ आएको अनुभूति हुन्थ्यो, पिङ खेल्नकै लागि एक घण्टासमेत पालो कुरियो त्यही सम्झनामा केटाकेटीहरुलाई खुसी दिनका लागि आफू यो उमेरमा पनि पिङ निर्माण समितिको संयोजक भएर काम गरेको बुद्धिबहादुरले सुनाउनुभयो ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले परम्परागत संस्कृतिको जगेर्ना गर्न उक्त स्थानमा विभिन्न प्रकारका पिङ राखिएको बताउनुभयो । बाराही घाटको उक्त चौरमा धेरै वर्षदेखि पिङ राखिँदै आइएको र केही दशकदेखि रोकिएकाले यस वर्षदेखि निरन्तरता दिइएको बताउनुभयो ।

स्थानीयवासी भरत पहारीले पिङ निर्माणसँगै सानो उमेर छँदा मनभित्र आएको खुसीको अनुभूति स्मरण भएको बताउनुभयो ।

अहिले बजारमा जतासुुकै यस्ता पिङ बाह्रै सञ्चालन हुँदा केटाकेटी उमेर समूहलाई पनि दसैँको पिङको महत्व कम हुँदै गएको उहाँको भनाइ छ । कास्कीका गाउँहरुमा यस्ता पिङ राख्ने काम केही मात्रामा भए पनि सहरी क्षेत्रमा भने ह्वात्तै घटेको पहारी बताउनुहुन्छ ।