९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू
अ अ+ अ-

मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा बहिनी÷दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ ।

द्वितीया तिथिका दिन बहिनी÷दिदीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरूको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ ।

उहाँका अनुसार भाइ बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइको बहिनी र पति पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । के छ सामा चकेवामा ? सामा स्त्री र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । छठको खरना वा पारणदेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गर्दछन् ।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पति पत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी बहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्मपुराणमा पाइन्छ ।

यो पूर्णरूपमा भाइ बहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । स्कन्द पुराणमा सामा चकेवाको कथा सप्रसङ्ग उल्लेख गरिएको छ । जसअनुसार श्यामा (सामा) र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) ।

चारूवक्य आश्रममा बस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गई चुक्ली लगाए, “श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे !” कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा) को पूर्व रूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले ।

त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीहरूले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानव रूपमा अवतरण भएको आख्यान रहेको छ । केही गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ । मानव मात्र होइन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ । समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगला जस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले होइन, हातले सञ्चालन हुन्छन् र महिलाहरू सूत्रधारका रूपमा जीवनका गाथाहरू लोक धुनको आधारमा गाउँछन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ । महिलाहरू जब आ–आफ्नो घरबाट डालामा मूर्तिहरू राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनीहरू गाउँछन् : डालाले बहार भेली, बहिनी से पलाँ बहिनो फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी…………..। भाइ र उनका परिवारजनको मङगल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ : सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा लागि गेल पनमा दुकान………………. ।

जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाती त्यसको जुँगा भनी राखिएको सनपाट (जुट) मा दाहिने हातले आगो लगाउँदै निभाउँदै महिलाहरू यस प्रकारको गीत गाउँछन् : धान–धान–धान, भइया कोठी धान चुगला कोठी भुस्सा ……। प्रतीकात्मक रूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्ने काम गरिएको छ । सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् ।

वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ : वृन्दावनमे आगि लागै कोइ ने मिझावे हे हमर भैया फलना भैया दौडि –दौडि मिझाबे हे………..। सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ : सामचको, सामचको अइह हे जोतल खेतमे बइसिह हे…………….. । पूर्णिमाका दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आई बस्नु है भन्दै सबै माटोका पात्रहरूको विसर्जन गरिने चलन रहेको छ ।–रासस