१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्रीले भने – हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव भएन



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले अहिले काठमाडौंमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताउनु भयो ।

उहाँले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताउनु भयो । उहाँले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गर्नुभयो ।

उहाँले उद्धार, राहत र घाईतेको उपचारमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले पुनःस्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो ।

उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरु बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराउनु भयो । उहाँले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले काठमाडौंमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको छ । देशभर मानिसहरुले ज्यान गुमाएको स्थिति छ । सडकहरु अवरुद्ध भएको, पुलहरु बगेको स्थिति छ । पहिरो, बाढी र डुबान भएको छ । त्यसलाई हामीले देशभरको सूचना संकलन गरेका छौँ । त्यसको मूल्यांकन गरेका छौँ । म सबैभन्दा पहिला प्राकृतिक प्रकोपको विपद्बाट ज्यान गुमाउनुहुने सबैका प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । जोखिममा रहेका मानिसहरुलाई नेपाल सरकार अत्यन्त गम्भीरतापूवर्क, अत्यन्त संवेदनशील भएर यो विपद्को घडीलाई हेरिरहेका छौँ ।

म सबै दिदिबहिनी दाजुभाईलाई आश्वस्त गर्न चाहन्छु, नेपाल सरकारले आफ्नो तर्फबाट उद्धार गर्ने काममा, राहत दिने काममा, घाईतेको उपचार गर्ने काममा र सडकहरु अवरोध भएको स्थिति, बाढी, पहिरोका कारणले पुल पुलेसा बगाएको कुराहरुलाई मानिसहरुलाई पुनःस्थापित र पुनः निर्माण गर्ने काममा हामी अत्यन्त गम्भीरतापूर्वक काम गर्नेछौँ ।

सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न र नजिक जो पनि मानिस जोखिममा छ, उहाँहरुलाई सहयोग गर्नका लागि आग्रह गर्न चाहन्छु । मानिसहरुको उद्धार भइरहेको छ । नख्खु खोलामा केही मानिसहरु छतमा बसेको अवस्थामा हामीले कोशिस गर्दागर्दै पनि बचाउन सकेनौँ । यसका बारेमा दुःखी छु ।

हेलिकप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले उडाउन सकेनौँ । जमिनबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले रेस्क्यु गर्ने क्रममा नै दुर्घटना भयो । सशस्त्र प्रहरी बल नेपालकै जवानहरु बगेको स्थिति छ । जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएर हेरिरहेका छौँ ।’

गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्न काममा खटिरहेको बताउनु भयो ।