२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’



अ+ अ-

दाङ: लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्नुहुन्छ ।

“कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ”, चौधरीले भन्नुभयो, “कुचो बेचेर/साटेर सङ्कलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ ।” सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उहाँले बताउनुभयो ।

बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताउनुभयो । “एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ”, उहाँले भन्नुभयो ।

चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एकै रहेको बताउनुभयो । एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घर खर्च चलाउन पुग्ने उहाँको भनाइ छ । “काचो सिरु ल्याएर त्यसबाट कुचो बनाउछौँ, त्यही कुचो सुकेपछि बेच्छौँ”, उहाँले भन्नुभयो ।

सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने भन्दै यो पेसालाई निरन्तरता दिने चौधरीले बताउनुभयो । “उमेर पनि गइसक्यो, अरु काम गर्न सकिदैन”, उहाँले भन्नुभयो, “कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु ।” काम सानो वा ठूलो नहुने भन्दै महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।रासस