१९ श्रावण २०८३, मंगलवार
,
Latest
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’



अ+ अ-

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम आयोजना गर्‍यो ।

यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बिपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसङ्गको चर्चा गरे ।

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बनेका प्रधानमन्त्री बिपीले व्यक्त गरेको यस्तो विचारले पत्रकारिताप्रति उहाँको धारणा प्रष्ट हुने बताउनुभयो । उहाँले सरकारको गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बिपीकै नेतृत्वको सरकारले गरेको भन्नुहुँदै उहाँले सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको उल्लेख गर्नुभयो । “पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । बिपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ”, बिपीका दाजु मातृकाप्रसाद कोइरालाका पुत्रसमेत रहनुभएका वरिष्ठ पत्रकार कमलले भन्नुभयो ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहनुभएका मदनमणि दीक्षितलाई बिपीले भन्नुभएको सरकारका गलत कामको आलोचना गरेर लेख्नु भन्ने भनाइलाई अहिलेका शासकले पनि अवलम्बन गर्नुपर्ने भनाइ उहाँको थियो । गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बिपीको विचार रहेको पनि कोइरालाले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले बिपीलाई राजनीति, साहित्य, दर्शनलगायत विषयमा जोडेर विभिन्न कार्यक्रम गर्ने गरिए पनि पत्रकारितासँग जोडेर पहिलोपटक बहस चलाएकामा खुसी व्यक्त गर्नुभयो । बिपीलाई बुझ्न उहाँले पत्रकारिता क्षेत्रलाई कसरी हेर्नुहुन्थ्यो भन्ने अध्ययन हुनु आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । बिपीको सान्निध्य र प्रेरणाले नै आफू पत्रकारितामा लागेको उल्लेख गर्नुहुँदै उहाँले पत्रकारिता र पत्रकारले कसरी भूमिका निर्वाह गरेको छ भन्ने बिपीले सूक्ष्मरुपमा हेर्ने गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । “पञ्चायतकालमा बिपी भारत निर्वासनमा बस्नुहुँदा नेपालका गुप्तचर पत्रकारको भेषमा बिपीको कुरा बुझ्न र त्यहाँको अवस्था हेर्न जान्थे, तिनलाई चिनेर पनि बिपी सहज रूपमा अन्तरवार्ता दिनुहुन्थ्यो, उनीहरूलाई नि उहाँले हामीलाई जत्तिकै समान व्यवहार गर्नुभयो”, वरिष्ठ पत्रकार विरहीले स्मरण गर्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली प्रेस जगत्ले पहिलोपटक बिपी जयन्ती मनाएकामा खुसी व्यक्त गर्नुहुँदै पत्रकारिता क्षेत्रलाई माया गर्ने राजनीतिज्ञ चिन्न यस क्षेत्रले लामो समय लगाएको धारणा राख्नुभयो । उहाँले व्यक्ति केन्द्रित अहिलेको समाजमा भएका विषयलाई पत्रकारिताले पस्कन नसकेको अवस्था रहेकाले यसमा परिवर्तन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “पत्रकारले समाज र देशलाई बलियो बनाउने गरी काम गर्नुपर्छ, भाषाको सही प्रयोग गरेर जनचासोका विषयमा समाचार बनाउनुपर्छ, बिपीले पत्रकारिता क्षेत्रबाट गर्नुभएको अपेक्षा पनि यही हो”, उहाँले भन्नुभयो ।

युनियनका अध्यक्ष शिव लम्सालले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपीको पत्रकारिताबारेको बुझाइ, सहयोग र विविध आयामबारे उजागर गर्न प्रारम्भ गरिएकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

भदौ २४ अर्थात् बिपी जयन्तीको पूर्वसन्ध्यामा युनियनले कार्यक्रम आयोजना गरेको हो । रासस




भर्खरै