१५ श्रावण २०८३, शुक्रबार
,
Latest
‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ: केपी ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक अवस्था निक्कै कमजोर भएको बताउनुभएको छ ।

शनिबार २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यति बेला अलिकति मनलाई दह्रो बनाएर कठिनाइ सामना गर्दै देशलाई अघि बढाउनु पर्ने बताउनुभयो । आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा विश्रृङ्खलित र राजनीतिक रूपमा भाँडभैलो हुँदा देश पछाडि पर्ने ओलीले बताउनुभयो ।

अहिले सरकारको विरुद्ध नियोजित र प्रायोजित हल्लाहरू थुप्रै चलाइएको ओलीले बताउनभयो । ‘सरकारको विरोध भनेको केही पनि नगरी प्राप्त हुने बहादुरी हो, अहिले मान्छेहरू यस्तो भएका छन्, हाम्रो संस्कृति, सभ्यता, सामाजिक मूल्य, समाजको विशेषतालाई कमजोर पार्दै लगिएको छ’, उहाँले भन्नुभयो ।

नेपाली समाज आस्था, विश्वास, सामाजिक, धार्मिक र नैतिक बन्धनमा बाँधिएर आएको ओलीले बताउनुभयो । नेपाली समाज कानुनमा मात्र होइन, बाचा, नैतिकता र इमानताको बन्धनमा बाँधिएको ओलीले स्पष्ट पार्नुभयो ।

देशलाई हरेक हिसाबले समृद्ध बनाउने सङ्कल्प सरकारले लिएको ओलीले बताउनुभयो । आर्थिक समृद्धिसँगै सामाजिक र सांस्कृतिक समृद्धि जरुरी रहेको ओलीले बताउनुभयो । नत्र त्यो खोक्रो हुने उहाँको धारणा छ । ‘हामी समृद्ध नेपाल बनाउन चाहन्छौँ, हरेक हिसाबले समृद्ध’, ओलीले भन्नुभयो ।

आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् हुनु नहुनेमा उहाँले जोड दिनुभयो । हरेक नागरिकका न्यायोचित इच्छा र आकाङ्क्षा सम्बोधन हुनु पर्नेमा ओलीको भनाइ छ ।

ओलीले देशको अर्थतन्त्र माथि उठाउन सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । त्यसो गर्दा देश र सबै देशवासीको अवस्था माथि उठ्ने उहाँले दाबी गर्नुभयो ।

सबैको साझा प्रयासले राजश्व असुली लगायत देशको आर्थिक अवस्था बिस्तारै माथि उठ्न लागेको ओलीले बताउनुभयो । यो सबैको प्रयासबाट सम्भव भएको ओलीले प्रष्ट पार्नुभयो ।

ओलीले कर्मचारी राष्ट्रका मेरुदण्ड भएका बताउनुभयो । राम्रा वा नराम्रा जुनसुकै काममा कर्मचारीको साथ नलिई राजनीतिक मानिसहरूले केही गर्न नसक्ने ओलीले बताउनुभयो । ‘तपाईँहरूलाई प्रयोग नगरी हामी त केही गर्नै सक्दैनौँ, भ्रष्टाचार गर्न पनि तपाईँहरूलाई प्रयोग गर्नुपर्छ, यस्तो कुकर्ममा तपाईँहरू किन सहभागी हुने, सहभागी नहुनुस्’, ओलीले भन्नुभयो ।

ओलीले मान्छेलाई एकछिन अलमल्याएर देश नबन्ने बताउनुभयो । देश बनाउन लामो सोच हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

अहिले देश र लोकतन्त्रको लागि योगदान गरेका दुईवटा पार्टीको सरकार भएकोले सकारलाई काम गर्न त्यति अप्ठेरो नभएको ओलीले बताउनुभयो । सङ्ख्याको हिसाबले तानतुन गरेको सरकार नभएकोले अहिलेको सरकारलाई काम गर्न सहज भएको उहाँले प्रष्ट पार्नुभयो ।
संसदमा आएको निजामती सेवा ऐन संशोधन गरेर सरकार अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । संसदमा पहिला नै पेस भएको पनि अब त्यसलाई पास गर्ने बेला आएको ओलीले बताउनुभयो ।

ओलीले माओवादीको सशस्त्र द्वन्द्व हिंसात्मक आन्दोलन नै भएको दाबी गर्नुभयो ।

हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नु पर्‍यो, केही मानिसहरूले महिमामण्डन गरेको सुन्छु, त्यस्तो महान् थियो भने किन छोडेको त्यो बाटो ? किन आउनु पर्‍यो शान्ति प्रक्रियामा ? त्यस्तो महान् जनयुद्ध नै थियो भने त सफल पार्नु पर्थ्यो, जनयुद्ध हो भने त्यो फेल हुँदैन, जनआन्दोलन हाे भने पनि त्यो फेल हुँदैन, जन भइसकेपछि फेल हुँदैन, अब जनताका नाममा एकमुठी मान्छेले आफ्नो रहर निर्देशित, प्रायोजित अथवा अरू प्रकारका रहरहरू लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ र बाटो बदल्नु पर्छ’, ओलीले भन्नुभयो ।

आफूले पनि झापा आन्दोलन ताका लिएकाे नीति अघि बढ्नको लागि सही नीति नभएको ओलीले विश्लेषण गर्नुभयो । ‘त्यो सही नीति भएनछ अगाडि बढ्ने, बदलियो, त्यो सही भएन त बदल्नु पर्छ, त्यस्तै अरूले चलाएका अनावश्यक हिंसा पनि बदल्छु पर्छ, छोड्नु पर्छ, बदल्नु पर्थ्यो बदलियो, हिंसाको महिमामण्डन गरेर अगाडि बढ्न सकिँदैन’, ओलीले भन्नुभयो ।

अहिले पनि हिंसाको महिमामण्डन गर्नु हुँदैन भन्ने मानिसहरू जीवितै रहेको उहाँले बताउनुभयो । ओलीले कोही कोही मान्छे नजन्मिएको भए घाम नै उदाउँदैनथ्यो, वर्षा नै हुँदैन थ्यो कि, ऋतु नै परिवर्तन हुँदैन थ्यो कि भन्ने जस्तो प्रचार गरिएको ओलीले बताउनुभयो । ‘उनै महामान्छे अवतरित भएपछि यो सबै भएको हो कि, लोकतन्त्र निज महामानवले ल्याउनुभयो कि ? धन्न एउटा स्पाइडर म्यान जन्मनुभए छ भने जस्तो कसैको बारेमा कुनै त्यस्तो भ्रम लिनु आवश्यक छैन’, ओलीले भन्नुभयो ।