• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने ★   पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा रिकी पोन्टिङ नियुक्त ★   बैतडीमा भाइरल ज्वरोका बिरामी बढे ★   विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ: शिक्षामन्त्री भट्टराई ★   हेमन्त शर्माको ‘आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित) ★   सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै प्रधानमन्त्रीलाई बुझाइने ★   बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो ★   सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता ★   अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोलाई बर्खास्त गर्यो ★   चक्रवात ‘यागी’का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावित: युनिसेफ

पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै



काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुन:निर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।

आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुन:निर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।

महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताउनुभयो । राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्वार  गरी योजना महाशाखा पनि करिब छ महिना सञ्चालन गरिएको उहाँले सुनाउनुभयो ।

महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो । महास्नानघर जीर्णोद्वार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुर बताउनुहुन्छ । लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको उहाँले सुनाउनुभयो । भासिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाएको जानकारी पनि कोषले गराएको छ ।

दुई वर्षअघि बैंकले रु पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्वार सकी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको जानकारी गराएको थियो । भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुन:निर्माणका लागि रु एक करोड बजेट व्यवस्थापन गरेको जनाएको छ । प्रत्येक महिना पूर्णिमाका दिन पशुपतिनाथलाई ८४ व्यञ्जनसहितको भोग लगाउन यो भवनको उपयोग गर्ने गरिन्छ । यसका लागि राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो ।

हाल महास्नानघरको पूर्वी भागबाट पूर्णिमाका दिन गरिने कर्म सम्पन्न हुन्छ । महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो । रासस