८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुन:निर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।

आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुन:निर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।

महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताउनुभयो । राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्वार  गरी योजना महाशाखा पनि करिब छ महिना सञ्चालन गरिएको उहाँले सुनाउनुभयो ।

महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो । महास्नानघर जीर्णोद्वार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुर बताउनुहुन्छ । लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको उहाँले सुनाउनुभयो । भासिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाएको जानकारी पनि कोषले गराएको छ ।

दुई वर्षअघि बैंकले रु पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्वार सकी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको जानकारी गराएको थियो । भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुन:निर्माणका लागि रु एक करोड बजेट व्यवस्थापन गरेको जनाएको छ । प्रत्येक महिना पूर्णिमाका दिन पशुपतिनाथलाई ८४ व्यञ्जनसहितको भोग लगाउन यो भवनको उपयोग गर्ने गरिन्छ । यसका लागि राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो ।

हाल महास्नानघरको पूर्वी भागबाट पूर्णिमाका दिन गरिने कर्म सम्पन्न हुन्छ । महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो । रासस