• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ – प्रचण्ड



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकार अहंकारपूर्ण शैलीमा गलत बाटोतिर अग्रसर भएको प्रतिक्रिया दिनुभएको हो ।

उहाँले भन्नुभयो ‘प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा यो सम्मानित रोष्टम म अलिक अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो । तर, चालीस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ ।’

सरकारका एकएक अपराधलाई यही संसदमा नङ्ग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिँदै उहाँले अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने बताउनुभयो । जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको उहाँको भनाई छ ।

‘बरु, आवश्यक परे जनतालाई साथमा लिएर संसददेखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ । पछिल्ला चालीस दिनमा प्रतिपक्षको नैतिक शक्ति जनताले देखिसकेको छ । धेरैलाई लागेको हुँदो हो, प्रतिपक्षको यति सानो संख्याले दुई तिहाइको सरकारलाई कसरी खबरदारी र नियन्त्रण गर्ला ? संख्यामा होला दुईतिहाइ तर सरकारको जगमा विश्वास होइन, डर थियो र छ । यो सरकार जहाँ, जतिखेर र जसरी बन्यो, गर्भदेखि नै जनताबीचमा ‘एक्सपोज’ थियो र अझ भइरहेको छ ।’ उहाँले भन्नुभयो ।