• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

बंगलादेशबाट युएईमा सारियो महिला टी–२० विश्वकप



काठमाडौँ । बंगलादेशमा राजनीतिक अस्थिरताका कारण महिला टी–२० विश्वकप बंगलादेशबाट सारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार यो घोषणा गरेको हो । यद्यपि, आयोजकको स्वामित्व भने बंगलादेशसँग नै छ ।

अक्टोबर ३ बाट सुरु हुन लागेको यस प्रतियोगिताका खेल दुबई इन्टरनेशनल र युएईको शारजाहको मैदानमा हुनेछन् ।

आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डिसले भने, ‘बंगलादेशमा महिला टी–२० विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा हो, किनकि हामीलाई थाहा छ कि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गर्न सक्थ्यो ।’

श्रीलंका र जिम्बाब्वे क्रिकेट बोर्डले पनि आ–आफ्नो देशमा प्रतियोगिता आयोजना गर्न चासो देखाए पनि काउन्सिलले खेल युएईमा गराउने निर्णय गरेको थियो ।

युएईले यसअघि नै टी–२० विश्वकप आयोजना गरिसकेको छ । कोरोनाका कारण सन् २०२१ मा भारतमा हुने पुरुष टी–२० विश्वकप युएईमा आयोजना गरिएको भएपनि त्यसको आयोजना भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गरेको थियो ।

यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । १८ दिनमा २३ खेलहरू हुनेछन् । समूह ए मा भारत र ६ पटकको च्याम्पियन अस्ट्रेलिया एकै समूहमा छन् ।

यस बाहेक यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड र छनोटको टोली समावेश छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र क्वालिफायर–२ टोली छन् ।