४ आश्विन २०८१, शुक्रबार
,
Latest
शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर गएर जनताको समस्या बुझ्छु: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू जनतामाझ जाने बताउनुभएको हो ।

सङ्गठन विस्तार गर्ने, पार्टी नेता तथा तल्ला तहका कार्यकर्ताको भावना बुझ्ने र पार्टीलाई नयाँ आधारमा रुपान्तरण गर्ने लक्ष्यका साथ आफू देशभर विशेष कार्यक्रम लिएर जाने योजनामा रहेको अध्यक्ष दाहालले बताउनुभएको प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो ।

सरकारमा रहँदा जनतासँग पार्टीको सम्बन्ध टुटेको भन्ने नेताहरुको भनाइपछि अध्यक्ष दाहालले नयाँ आधारमा जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू र पार्टीका शीर्ष नेता देशभर जानैपर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि दलसँग गठनबन्धन नगरी निर्वाचनमा सहभागी हुने बताएको छ । कम्युनिष्ट र बृहत् वामपन्थी एकताको लक्ष्यलाई नछाड्ने ठहर गर्दै सो पार्टीले जनताको भावना र चाहनाअनुसार पार्टीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

सरकारमा रहँदा सुशासन र सामाजिक न्यायका पक्षमा सञ्चालन गरेको कामलाई जनतामाझ लैजाने र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सञ्चालित अभियानलाई निरन्तरता दिन सरकारलाई जनस्तरबाट दबाव दिने निष्कर्षसमेत बैठकले निकालेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

सङ्घीय संसद्मा प्रभावकारी रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने, त्यसका लागि जनताका दैनिक समस्यालाई प्रभावकारी रुपमा राख्ने र समाधानका लागि सरकारलाई दबाव दिने योजना माओवादी केन्द्रले बनाएको छ ।

आफूहरुलाई जनतामा जाने सुवर्ण अवसर प्राप्त भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकपछि पार्टीको शीर्ष नेतृत्व नै देश दौडाहामा लाग्ने जनाएको छ । माओवादीले यही साउन २५ गते स्थायी समितिको बैठक बोलाएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

देशभक्त, अग्रगामी शक्तिसँग सहकार्य गर्ने, देश र जनताको समस्या समाधानमा पहल गर्ने र बृहत् वामपन्थी एकताका अलावा कम्युनिष्ट पार्टीको पुन:गठनलाईसमेत अगाडि बढाउने विषयमा पदाधिकारी बैठकले बृहत् छलफल गरेको प्रवक्ता सापकोटाको भनाइ छ । गत शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको पदाधिकारीको बैठक आज सम्पन्न भएको हो ।