१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघ संरक्षणलाई आर्थिक समृद्धिको अभिन्न अंगको रुपमा लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणलाई केवल प्रकृति संरक्षणको रूपमा मात्र नलिई समग्र आर्थिक समृद्धिको अभिन्न अङ्गको रूपमा लिनुपर्ने बताउनुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनचेतनामूलक अभियान सञ्चालन गरी सहअस्तित्वको संस्कृतिलाई पनि बढावा दिनुपर्ने बताउनुभएको हो ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘बाघ संरक्षणमा नेपाल अग्रपङ्तिमा छ । नेपालको बाघ संरक्षण कार्यलाई अन्तर्राष्ट्रिय समुदायले समेत उच्च मूल्याङ्कन गरेको छ। नेपालले बाघको सङ्ख्यालाई दोब्बर बनाउन गरेको प्रयासलाई सबैले प्रशंसा गरेका छन् । यस सफल कार्यमा खट्ने कर्मचारी, स्थानीय समुदाय, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदाय सबैलाई म एकमुष्ठ धन्यवाद दिन चाहन्छु ।’

पूर्वराष्ट्रपति भण्डारीले बाघको संख्या बढेसँगै केही चुनौती पनि अवश्य थपिएको भए पनि त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । उहाँले बाघ संरक्षण गर्दा आउदा दिनमा गुणस्तरयुक्त बासस्थान व्यवस्थापन, आहारा प्रजातिको बन्दोबस्ती, बाघ संरक्षणमा स्थानीय समुदायको अर्थपूर्ण संलग्नता र उनीहरूको जीविकोपार्जनका अवसरहरूको खोजी, चोरी शिकारविरुद्ध प्रभावकारी कानुन कार्यान्वयन र बाघ तथा मानव बिच हुन सक्ने द्वन्द्वको व्यवस्थापन हाम्रो कार्यदिशा हुनुपर्नेसमेत स्पष्ट पार्नुभएको छ । उहाँले अगाडि भन्नुभएको छ– ‘बाघ संरक्षण गर्दा जलवायु परिवर्तनका असर र प्रभावको बारेमा अध्ययन अनुसन्धान गर्ने र प्रविधिको विकास र विस्तार मार्फत कार्यक्षेत्रमा काम गर्ने कर्मचारीको क्षमता विकास गर्न अब ढिलो गर्नु हुँदैन । बाघ संरक्षणलाई एउटा निरन्तर प्रक्रियाको रूपमा लिनका लागि जनचेतनामूलक अभियानहरू सञ्चालन गरी सहअस्तित्वको संस्कृतिलाई बढावा दिनुपर्ने हुन्छ ।’

उहाँले संरक्षणलाई एउटा सुनौलो अवसरको रूपमा रुपान्तरण गर्नका लागि निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यमा बाघ र प्रकृतिमा आधारित पर्यटनलाई विशेष प्रथामिकता दिनुपर्ने बताउनुभएको छ । बाघ संरक्षणलाई केवल प्रकृति संरक्षणको रूपमा मात्र नलिई समग्र आर्थिक समृद्धिको अभिन्न अङ्गको रूपमा लिनुसमेत उहाँले आह्वान गर्नुभएको छ ।