• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

हरेक पाँच वर्षमा मेगा अक्शन गराउन आईपीएल टिमको माग



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)का फ्रेन्चाइजीहरूले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई हरेक ५ वर्षमा मेगा लिलामी गर्न माग गरेका छन् ।

अहिलेसम्म हरेक ३ वर्षमा मेगा लिलामी हुने गरेको छ । बोर्डले बुधबार मेगा लिलामीबारे प्रतिक्रिया सत्र आयोजना गरेको थियो । यसमा सबै १० फ्रेन्चाइजीका अधिकारीहरूले भाग लिएका थिए ।

फ्रेन्चाइजले ४ देखि ६ र ८ राइट टु म्याच कार्डका खेलाडीलाई रिटेन गर्न माग पनि गरेको छ ।

फ्रेन्चाइजीका एक वरिष्ठ अधिकारीले क्रिकइन्फोलाई मेगा अक्सन ३ वर्षको सट्टा ५ वर्षमा गर्नु बढी फाइदाजनक रहेको बताए । यसले फ्रेन्चाइजलाई अनक्याप्ड खेलाडीहरू तयार गर्न पर्याप्त समय दिने उनी बताउँछन् ।

तलबको सन्दर्भमा अधिकारीले अर्को सुझाव दिए । जसअनुसार दुई मेगा लिलामीबीचको प्रदर्शनका आधारमा खेलाडीको तलब बढाउने वा घटाउने अधिकार फ्रेन्चाइजीलाई दिनुपर्छ ।

यसले टोलीहरूलाई आफ्ना ठूला खेलाडीहरू राख्ने मौका दिनेछ । साथै, पहिले आधार मूल्य वा कम रकममा खरिद गरिएका खेलाडीहरूले लाभ प्राप्त गर्नेछन् । उदाहरणका लागि रिंकु सिंह जसलाई कोलकाताले ५५ लाखमा किनेको थियो ।

टोलीहरूले ठूला खेलाडी वा कप्तान राख्ने अनुमति पाउनुपर्छ । यसबाहेक अन्य खेलाडीलाई पनि राइट टु म्याचको रूपमा समावेश गर्न दिनुपर्छ ।

यसपटकको आईपीएल २०२४ मा केही खेलाडीले फ्रेन्चाइजको तनाव बढाएका छन् । अहिले म्याच विनर बनेका र सस्तो मूल्यमा किनिएका धेरै खेलाडी छन् । यस पटक टोलीहरू ती खेलाडीहरूको लागि ठूलो रकम तिर्न तयार हुनेछन् ।

यस्ता खेलाडीलाई आफ्नो श्रेणीमा राख्नु टोलीका लागि चुनौती हुनेछ । मेगा लिलामीमा यी खेलाडीहरूको लागि प्रतिस्पर्धा हुन सक्छ ।