२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलार्डको प्रहार गरेको बलले लागेर फ्यान घाइते, ब्याट्सम्यानले मागे माफी



अ+ अ-

एजेन्सी । किरोन पोलार्ड हाल एमआई न्यूयोर्कबाट मेजर लिग क्रिकेट २०२४ मा खेलिरहेका छन् । प्रतियोगिताको १९औं खेलमा पोलार्डले उत्कृष्ट इनिङ खेल्दै १२ बलमा २ चौका र ३ छक्काको मद्दतमा अविजित ३३ रन बनाएका थिए ।

यसैबीच पोलार्डको प्रहारबाट एक महिला फ्यान घाइते भएकी छन् । त्यसपछि पोलार्डले खेलपछि महिला फ्यानसँग माफी मागे र अटोग्राफ पनि दिए । पोलार्डले महिला फ्यानलाई भेटेको भिडियो तिब्र गतिमा भाइरल भइरहेको छ ।

पोलार्डको यो भिडियो एमआई न्यूयोर्कको सामाजिक सञ्जालबाट शेयर गरिएको हो । भिडियोमा पोलार्डले लेग साइडमा शट खेल्दा बल सिधै स्टेडियमबाहिर उभिएकी टोलीकी महिला फ्यानको काँधमा गएको देख्न सकिन्छ । बलले प्रहार गरेपछि महिला फ्यान निकै असहज देखिएकी थिइन् ।

खेलपछि पोलार्डले महिला फ्यानलाई भेटेर माफी मागेका थिए । यस क्रममा फ्यानले पोलार्डको शटको तारिफ गरेकी थिइन् । यसपछि पोलार्डले क्याप साइन गरेर महिला फ्यानलाई दिए । त्यसपछि महिला फ्यान र उनका पतिले पोलार्डसँग सेल्फी खिचे । पोलार्डले फ्यानका पतिसँग पनि माफी मागेका छन् ।

एमआई न्यूयोर्कले खेल ४ विकेटले जित्यो । न्युयोर्कले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको लस एन्जलस नाइट राइडर्स १९.१ ओभरमा १३० रनमा अलआउट भयो । टोलीका लागि आन्द्रे रसेलले २१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । यस अवधिमा एमआई न्यूयोर्कका लागि राशिद खानले सर्वाधिक ३ विकेट लिए ।

त्यसपछि एमआई न्युयोर्कले लक्ष्य पछ्याउँदै १७ ओभरमा १३४ रन बनाएर जित्यो । एमआईका लागि विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनले २८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३५ रनको सबैभन्दा ठूलो पारी खेले ।