• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछः अर्थमन्त्री पौडेल



काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

सोमवार मन्त्रालयमा नेपाल होटल संघ (हान)का पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले मौद्रिक नीतिमा छलफल भइरहेको र केहि दिनभित्रै मौद्रिक नीति आउने बताउनु भयो ।

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताउनु भयो । उहाँले होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताउनु भयो । उहाँले नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँहरुले राख्नुभएका समस्याहरुमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ । केही दिनभित्र टुंगोमा पुग्छ । सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ । विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ । जानुपर्छ, जाने नै हो । अलिकित अलिकति ढिलो भएको छ । हामी भर्खर त आइपुग्यौँ । यसलाई हामी गम्भीरताका साथ लिन्छौँ । होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्रता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ ।’

अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल संघ (हान)का अध्यक्ष विनायक साहले ३०÷३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि वर्षेनी १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्छौँ तर हामी कहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ । हामीसँग दुई वटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन । विभिन्न स्थानको सडक राम्रो नहुँदा मानिसहरु आउन चाहेका छैनन् । आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु ।

कालोसूचिमा राखिदिन्छ, लिलाम गरिदिन्छ । हामी पलायनको अवस्थामा छौँ । दुई विमानस्थल चलाउनसके हामीले भारतीय र चिनियाँ पर्यटक धेरै ल्याउन सक्छौँ । होटललाई उद्योगको मान्यता दिनुपर्छ ।’

अध्यक्ष साहले होटल व्यवसायीहरुले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन आग्रह गर्नुभयो ।