मण्डलामा उखुका आँशु
त्यसो त माइतीघर मण्डला आँशु बगाउने नै ठाउँ भएको छ हिजोआज । कहिले आफन्तको दुःखद निधनको सम्झनामा त कहिले नेपाली तथा विदेशी नागरिकहरुको दुर्घटना या दुःखद सम्झनामा तिनको आफन्त यहीँ जान्छन् र आँशु झार्ने गर्छन् । पछिल्लो समय यहाँ नेपालमा गएको वर्षात्को सिजनमा नेपालका दर्जनौँ स्थानमा गएका बाढी पहिरोका कारण भएको दुःखद निधनपछि तिनका आफन्तले उनीहरुको स्मृतिमा बत्ती बालेर आँशु बगाएका थिए । सिन्धुपाल्चोकको जुरेको पहिरो होस् कि बागलुङको ढोरपाटनमा ज्यान गुमाउनको सम्झनामा उनीहरुका आफन्तले मण्डलामै पुगेर सम्झिएका थिए, आँशु बगाएका थिए ।
मण्डलाले धेरैको आँशु देखेको सहेको छ । पछिल्लो समयमा जातीका नाममा जाजरकोटमा पाँच जना कलिला बालकहरुको जघन्य हत्या भएपछि देशभरिका मानिसले आँशु बगाए । त्यो आँशुको साक्षी पनि मण्डला नै थियो । ती कलिला बालकका आफन्त मात्र होइन कि राजधानीका सयौँ नागगरिकले त्यो जघन्य अपराध सम्झेर आँशु बगाए, अनि सहारा लिए मण्डलाकै । एक साँझ त्यहाँ पुगे र ती अवोधहरुको सम्झनामा बत्ती बाले । अनि त्यहीँ पुगेर आँशु बगाए । द्वन्द्वमा परेर ज्यान गुमाएका हुन् कि आजका दिनसम्म पनि बेपत्ता रहेका हुन् उनीहरुको सम्झनामा उनीहरुका आफन्तले बारम्बार त्यहाँ पुगेर बत्ती बाल्छन् र कति त उनैका आँशुले बत्ती बर्तिन्छन् पनि ।
यतिखेरको मण्डलाको दृश्य अर्कै छ । अहिले भने यहाँ यस देशका धर्तीपुत्रहरु रोइरहेका छन् । अहिले किसानको आँशुमा डुबेको छ माइतीघर मण्डला । धर्तीपुत्र अर्थात् किसान । किसान वास्तवमा देशपाल्ने पात्र हुन् । मानिसले जतिसुकै धनसम्पत्ती कमाए पनि पैसा खाएर बाँच्न सक्दैन, अन्न चाहिन्छ । त्यही अन्न उमार्ने किसान हुन् धर्ती पुत्रहरु । यसरी देश पाल्ने धर्ती पुत्रहरुको आँशु झर्न थालेपछि लाग्छ यतिखेर मण्डला नै आँशु थाम्न सकिरहेको छैन । मण्डला नै रोइरहेको छ ।
किसान नेपालका मात्र होइन संसारकै धर्ती पुत्र हुन् । तर हामीकहाँजस्तो विदेशतिर किसानलाई हेप्ने र उनीहरुका उत्पादनलाई उपेक्षा गर्ने काम हुदैन । हामीमात्र यसो गरिरहेका छौँ । एक पटक मात्र होइन पटक पटक । किसानका आँशुका ढिका हेर्दे हाम्रा शासकहरु मजाक गरिरहेका छन् । कतिले यी नक्कली किसान हुन् भन्दैछन् भने कतिले त मण्डलाको जाडोमा कठ्यांग्रिएर न्यायको भिख मागिरहेका किसानलाई बिचौलिया समेत भन्न भ्याएका छन् । सुन्दै निष्ठुर लाग्ने कुरा त के छ भने तिनै शासकहरु किसानका छोरा हुन्, यिनका बुबा आमाका खुट्टा पनि अहिले मण्डलामा रोएका किसानको जस्तै पट्पटी फुटेका थिए, सायद आज पनि उनीहरुका कुर्कुच्चामा खेतबारीको माटोका डोबहरु अहिले पनि होलान् । तर आज सिंहदरबार छिरेका ती किसानका छोराले भने किसानलाई किसान देख्दैनन्, बिचौलिया देख्छन् ।
यो उखुको आँशु हो, अर्थात् उखु किसानको । उनीहरु गएको वर्षको चिसोदेखि आज पनि आँशु झारिरहेका छन् आफ्नो खेतीको अर्थात् उत्पादनको मोल पाउँ भनेर । तिनै किसानका उखुले चिनी कारखानाका मालिक तथा उद्योगीहरु सम्पन्न भएका छन् । तर किसानको ऋण तिर्दैनन् । आफू समृद्ध हुन्छन् तर किसानको उत्पादनको मूल्य तिर्दैनन् । अब अहिले आएर दुःखको कुरा यो बन्दै गयो कि ती किसानका भन्दा यी मालिकका मानिस बढी छन् सिंहदरबारमा । अहिलेको सिंहदरबारले किसान चिन्दैन, सुन्दैन । बरु बिचौलियाको कुरा सुन्छ र उनीहरुको हुँदो गर्छ । किनभने आर्थिक र राजनीतिक दुवै फाइदा यसैमा छ । अहिले पनि देशको बाँच्ने आधार कृषि नै हो । एकाध आकाशे खेती एक दुई वर्षलाई बन्द भइदिने हो भने देशको भोक मेट्ने नै कृषिले हो । तर अहिलेको सिंहदरबार टुप्पोबाट पलाएको छ, धर्तीमा टेक्दैन । धर्तीबाटै पलाएको भए त धर्ती पुत्रकै कुरा सुन्ने थियो, उनीहरुका आँशुले छुनेथियो ।
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्याछ भन्ने नारायण गोपालको गीतजस्तै दिनभरको आँशु सकिएपछि कुनै बेला यसो फिस्स गर्छन् यहाँ आँशु बगाएका किसान नेताको उपस्थिति देखेर । तर उनीहरुको मनलाई के थाहा छ भने यो वा त्यो सरकारकै पालादेखि आफूहरु ठगिएका छौँ, लुटिएका छौँ । आज तिनै नेताहरु किसानका आँशुसँग फोटो खिच्न गइरहेका छन् । उनका आँशुले भरिएका मनभित्रैसम्म त फोटो पुग्दैन तर बाहिर चाहिँ नेताले ऐक्यबद्धता जनाइदिँदा केही भइहाल्छ कि भन्ने जिजिविसा ती किसानमा अझै छ पनि । अनि केही मन्त्री नै त्यहाँ पुगेर किसानलाई पीडा थपिदिएका छन् । यता कानुन कार्यान्वयन गर्ने ठाउँमा मन्त्री नै छन् । पोहोर साल यीनै किसानले मण्डलामा रोएर आँशु निथारेर घर फर्किएका थिए । यीनै नेताले उनीहरुलाई कागजमा फकाई फुलाइ गरेर घर पठाएका थिए । तर आजसम्म त्यो बक्यौता उठेन, उद्योगीले टेरेनन् । अनि ती किसान जाने ठाउँ त सिंहदरबार होइन, उनको पहुँच पुग्दैन त्यसको नजिकको यही मण्डेलै हो । तर जब किसानले मण्डेलको चिसो छिँडी कुर्न थाल्छन् तिनै किसानको उखुको चियाले सिंहदरबारभित्र भने चिनी उद्योगीलाई मन्त्रीजीले स्वागत गर्न थाल्छन् । त्यसपछि झन् झर्छ किसाको आँशु ।
उद्योगमन्त्री चिनी उद्योगीलाई पक्राउ गर्न खोजिएको तर नेताले नदिएको भनेर सार्वजनिक अभिव्यक्ति दिन्छन् । गृह मन्त्रीले तिनलाई पक्राउ गरिनेछ भनेर टिभी बोलाएर जानकारी दिन्छन् तर पक्राउ गर्दैनन् । कृषिमन्त्रीका सैद्धान्तिक बहसले यता किसानको आँशु रोकिने कुरै भएन । किसानले माटोको मूल्य मात्र जान्छन् तर कृषि मन्त्रीजीको समाजवादको बहस बुझ्दैनन् । बिडम्बना यही छ कि यीमन्त्रीले नै नबुझेपछि देशका अरु अख्तियारवालाले कसरी किसानको आँशुको मूल्य बुझुन् ? वर्षेनी कति रुनुपर्ने हो किसान ? कृषिमन्त्रीज्यू किसानको आँशु वर्षेनी कति हेर्नुहुन्छ ? सिंहदरबारले आफ्नो आँगनको अलाप अझै कति सहने हो ? अब यी प्रश्नहरुले अरुलाई होइन, मन्त्रीहरुलाई नै घेर्नेछन् । सिंहदरबारका मूल मान्छेले त झन् थाहा नपाउने कुरै भएन ।










