१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन भए आठ पर्वतीय उडान



अ+ अ-

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ ।

कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जनाएका छन् । बन्दाबन्दीको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा नेपालीहरु हिमाल अवलोकन गर्न औधि रुचाएका छन् ।

नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छुटसहितका अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । दुवै कम्पनीले एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराएका हुन् । निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन् । शनिबार एकै दिन आठ पर्वतीय उडान भएका छन् । बुद्ध एयरका पाँच र यती एयरका तीन उडान भएका हुन् । 

यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ । अघिल्लो शनिबार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएका हुन् ।

गत शनिबार बुद्धका चार र यतीका (सिमरासहित) चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो । आज बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा अवलोकन गराएको जनाएको छ । यात्रुको उत्साहवद्र्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ ।

यतीको सातामा दुई दिन पर्वतीय उडान : यती एयरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै सातामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ । हाल शनिबार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो । भोलि आइतबारका लागि दुई उडान निर्धारण गरिएको कम्पनीले जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको मागबमोजिम हरेक शनिबार र आइतबार पर्वतीय उडान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार यतीले काठमाडौँबाट सातामा दुई दिन र सिमरा आधार भएर हरेक शनिबार एक दिन उडान गर्नेछ ।