७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

चीनको हरित पहल कति सफल होला ?

चीनको हरित पहल कति सफल होला ?
अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनको मुद्दा लामो समयदेखि घनीभूत चर्चाको विषय बनिरहेको छ । खासगरी औद्योगिक शक्ति सम्पन्न मुलुकहरु जलवायु केन्द्रित विकासका पक्षमा उभिन थालेका छन् । यदि यो विषयलाई समयमै सम्बोधन गर्न सकिएन भने यसको असर र प्रभावबाट विश्वको अस्तित्वमाथि नै संकट उत्पन्न हुने आंकलन बैज्ञानिक समुदायले लगातार उठाएपछि विश्व समुदायबीच यो विषय छलफलको एजेन्डा बनेको हो । उत्तरी र दक्षिणी ध्रुवका विशाल हिमखण्डहरु पग्लन थालेको, समुद्र सतह माथि उठ्दै गएको, असामान्य मौसमी उतारचढाब देखिएको, तापमानमा लगातार वृद्धि हुँदै गएको, ओजोन सतहमा क्षयीकरण भएको, अनपेक्षित आगलागी, डढेलो जस्ता घटनाक्रमले विश्व समुदायलाई चिन्तित बनाइरहेकै छ । 

यी घटनाको प्रमुख कारक औद्योगिक प्रदूषणलाई मान्न सकिन्छ । ठूला उद्योग व्यवसाय र जैविक इन्धनबाट चल्ने सवारी संख्याको चाप बढी भएका मुलुकहरु मुख्य प्रदूषक हुन् । साना, कमजोर र अविकसित राष्ट्रबाट उत्सर्जन हुने प्रदूषणको मात्रा स्वाभाविक रुपमा कम हुन्छ । अहिले विश्वको सबैभन्दा बढी ऊर्जा खपत गर्ने मुलुकहरुमा औंलामा गन्न सकिने विकसित २० औद्योगित राष्ट्र नै हुन्। 

जलवायु परिवर्तनको यस पेचिलो मुद्दाका प्रमुख राष्ट्रहरुमा संयुक्तराज्य अमेरिका, चीन, भारत, जापान तथा युरोपेली मुलुकहरु नै हुन् । अझ चीन र अमेरिकाबीचको बहुआयामिक सम्बन्धले वातावरणका क्षेत्रमा असर पारिरहेको हुन्छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले चीनका सन्दर्भमा कस्तो नीति अबलम्बन गर्नुहुन्छ भन्ने दृष्टिबाट पनि जलवायु परिवर्तनको विषयमा भन्न सकिने छ । हुनतः जो बाइडेनले चुनाव अघि र चुनाव पछि पनि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने घोषणा गरिसक्नु भएको छ । तर अमेरिकाभित्रै रिपब्लीकन पार्टीले बाइडेनको प्रस्तावलाई कति सकारात्मक रुपमा लिनेछन् भन्ने कुराले पनि महत्व राख्नेछ । विशाल औद्योगिक संरचना भएको चीनले यसअघि नै पेरिस सम्झौतालाई स्वीकार गर्ने बताइसकेको छ । विश्वका दुई ठूला कार्बन उत्सर्जक राष्ट्रहरु चीन र अमेरिकाले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न सहकार्य नगरे त्यसले दुष्परिमाण मात्र सिर्जना गर्नेछ । 

अर्कोतिर चीन–अमेरिकाको भूराजनीतिक प्रतिस्पर्धा जारी रहे त्यसले जलवायु परिवर्तनका साझा चासोका मुद्दालाई ओझेलमा पार्न सक्ने क्लेयरमेन्ट क्याक्किना कलेज अमेरिकाका प्रोफेसर मिन्छिन पेई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “विश्वकै सर्वाधिक बढी कार्बनडाइअक्साइड उत्सर्जक राष्ट्र हुनुबाहेक चीन विश्वमै सबैभन्दा बढी कोइला खपत गर्ने राष्ट्र पनि हो । चीनले हाल विश्वमा प्रयोग भइरहेको कोइलामध्ये झण्डै ५२ प्रतिशत हिस्सा ओगटेको छ । चीनको मध्यम वर्ग अहिले कोइलाको साटो हरित र स्वच्छ ऊर्जाको माग गर्न थालेका छन् । चीनमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ ।”

चीनले जलवायु परिवर्तनको मुद्दालाई ध्यान दिएर नयाँ रणनीतिहरु पनि अघि सारेको देखिन्छ । हालै संयुक्त राष्ट्रसंघको अगुवाईमा भएको जलवायु आकाँक्षा शिखर बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०३० सम्ममा कार्बनडाइअक्साइड उत्सर्जनमा कमी ल्याउने र सन् २०६० अगाबै कार्बन तटस्थ राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले सन् २०३० भित्रै जलवायु लक्ष्य पूरा गर्ने महत्वाकाँक्षी योजना अगाडि सार्नु भएको थियो । यसमा कार्बनडाइअक्साइड उत्सर्जनलाई प्रति इकाई कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को ६५ प्रतिशतले कमी ल्याउने, प्राथमिक ऊर्जा उपभोगमा नवीकरणीय ऊर्जा एक चौचाई बनाउने तथा वायु र सौर्य ऊर्जा क्षमताको कूल क्षमता १ अर्ब २० करोड किलोवाट (सन् २०१९ मा कूल जडित क्षमताको तीन गुणा) बनाउने उल्लेख छ । यसले चीनको अन्तर्राष्ट्रिय छवि राम्रो बनाउनेछ भने अमेरिकामाथि यसले दबाब सिर्जना गर्नेछ । 

चीनले दोस्रो रणनीति त अझै सार्वजनिक गरेकै छैन । चीनले सहयोगात्मक, विवादरहीत अन्तर्राष्ट्रिय संवाद र कर कटौतीको प्रस्ताव राख्न सक्नेछ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ सौर्य प्यानलमाथि लगाएको ३० प्रतिशत कर र स्वच्छ–प्रविधि हस्तान्तरणमाथि अमेरिकाले लगाएको प्रतिबन्धको विषय चीनका लागि टाउको दुखाई हुँदैछ । यी यथार्थपरक आग्रहका अलाबा चीनको वर्तमान नेतृत्वले मानव अधिकारको विषय उठाएर चीन विरुद्ध पश्चिमा मुलुकको आवाजलाई मत्थर बनाउने प्रयास जारी राख्नेछ । 

चीनको यस दुई नीतिले बाइडेनमाथि दबाब सिर्जना गर्नेछ । तर बाइडेनमाथि रिपब्लीकन पार्टीले सिर्जना गर्ने दबाब झेल्न सक्नु भएन भने कर कटौती वा प्रविधि हस्तान्तरण जस्ता विषयमा सामान्य प्रगति पनि नहुन सक्ने खतरा छ । यसको साटो बाइडेनमाथि चिनियाँ मानव अधिकार र भूराजनीतिक विषय नै प्रमुख रुपमा देखा पर्नेछ । यस्तो परिस्थितिमा अमेरिका नै दोषी देखिनेछ, र विश्व समुदायमा अमेरिकाले आफ्नो छवि धुमिल्याउने र चीनको स्थिति अझ सुदृढ हुनेछ । तर यी दुबै अवस्थामा जलवायुको परिदृश्य भने यथार्थमै अनर्थकारी हुनेछ । प्रोफेसर मिन्छिन पेई भन्नुहुन्छ, “बाइडेन प्रशासनले यो वस्तुतथ्यलाई समयमै मनन् गरेर अघि बढ्नुको विकल्प छैन, र सकेसम्म हरसम्भव प्रयास गर्नु नै बुद्धिमानी हुनेछ ।”

हालैमात्र, युरोपेली युनियनले सन् २०३० भित्र हरितगृह ग्यास उत्सर्जनलाई ५५ प्रतिशतले कटौती गर्ने ऐतिहासिक निर्णय गरेको छ भने जापानले पनि त्यस्तै नीति सार्वजनिक गर्न लागेको छ । धेरै देशले हरित ऊर्जामा जोड दिइरहे पनि यस ऊर्जाको उत्पादन र प्रयोगलाई जनस्तरमा ल्याउन धेरै काम गर्नुपर्ने चुनौती छ । खासगरी औद्योगिक र प्रविधि सम्पन्न मुलुकहरुले यी ऊर्जाको प्रयोगलाई बढावा दिन विशेष रुपमा ध्यान दिनु उपयुक्त हुनेछ । सन् २०१५ डिसेम्बर १२ मा पेरिसमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताले पूर्व औद्योगिक समयकै आधारमा  विश्व तापमानमा २ डिग्री सेल्सियसले कमी ल्याउने उल्लेख छ । कानुनी रुपमै बाध्यकारी मानिएको यस सम्झौतामा १९६ राष्ट्रले हस्ताक्षर गरेका थिए ।