११ मंसिर २०८१, मंगलवार
,
Latest
परिवारलाई खबरै नगरी क्यानडाबाट नेपाल आएका थिए माझी दम्पती न्यायको बोर्डमा किन पोतियो कालो ‘पूर्णबहादुरको सारंगी’विरुद्ध प्रतिलिपि र प्रहरीमा उजुरी न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक जारी बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री करोडपति बनेपछि विवादमा वैभव सूर्यवंशी, उमेरमा उठ्यो प्रश्न सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या: राष्ट्रसङघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँभरि महिलाको सामूहिक रोपाइँ



अ+ अ-

राँझा । जिल्लाको खजुरा गाउँपालिका–१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् ।

रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् । “घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको खेती किसानी सबै हाम्रै जिम्मामा छ”, धान रोप्दै गर्नुभएकी राधापुरकी ममता विकले भन्नुभयो, “एक्लै खेत रोपेर नसकिने, गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ सुरु गरेका हौँ ।”

महिला दिदीबहिनीले आफ्नो मात्र नभइ मूल्य तोकेर गाउँमा सबैको धान रोपाइँको काम गर्न थालेपछि अहिले खेताला खोज्नुपर्ने झण्झट हराएको उहाँले बताउनुभयो । यसरी सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उहाँको बुझाइ छ ।

समूहका सदस्यभित्र प्रति घण्टा रु दुई हजार र समूह बाहिरप्रति घण्टा रु तीन हजारका दरले महिला दिदीबहिनीले रोपाइँ गर्दै आउनुभएको छ । सामूहिक रोपाइँबाट यसवर्षको हालसम्म रु एक लाख ८० हजार आम्दानी भइसकेको समूहकी अगुवा अञ्जली सुनारले जानकारी दिनुभयो ।

“समूहमा आवद्ध भएर काम गर्दा आफ्नो धान रोपाइँ समयमै हुनुको साथै आर्थिक बचत पनि गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यो वर्षको अहिलेसम्म रु एक लाख ८० हजार बचत भइसकेको छ, अझै एक हप्तासम्म रोपाइँ गर्दा रु दुई लाख पुग्छ ।”

राधापुरको न्याउलीडाँडा निवासी बालसरा सुनारले सामूहिक रोपाइँले गाउँमा खेती किसानीको काममा धेरै सहज भएको बताउनुभयो । “आफ्नो सात कठ्ठा खेतमा धान रोप्ने गरेकामा महिला समूहमा आवद्ध भएपछि यो वर्ष थप १० कठ्ठा खेत अधियाँ लगाएर रोपाइँ गरेको छु”, उहाँले भन्नुभयो ।

“गाउँका अधिकांश युवा रोजगारीको लागि विदेश पलायन भएका छन्, घरमा वृद्ध सासू–ससुरा मात्रै हुनुहुन्छ”, स्थानीय समिक्षा खड्का विकले भन्नुभयो, “बच्चाबच्चीको हेरचाह गर्ने, खेती किसानीका साथै परिवारको सम्पूर्ण जिम्मेवारी हेर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा समूहमा काम गर्दा सहयोग हुनुका साथै काम छिटो सम्पन्न भएको छ ।” विगतमा एक्लै वा एक÷दुईजना पर्म लगाउने गरेपनि गतवर्षदेखि महिला समूहमा आवद्ध भएसँगै पर्म खोज्ने झन्झट अन्त्य भएको उहाँले बताउनुभयो ।

“गतवर्ष १७ जनाको समूह बनाएर रोपाइँको सुरुवात गरेका थियौँ, त्यसबाट रु एक लाख पाँच हजार आम्दानी गरेका थियौँ”, समिक्षाले भन्नुभयो, “यो वर्ष २५ जनाको समूहबाट रोपाइँ गरिरहेका छौँ, आम्दानी पनि धेरै हुने अपेक्षा लिएका छौँ ।”

राधापुरका महिला दिदीबहिनीले सामूहिक रुपमा काम गरेर आर्थिक बचत गर्न सफल हुनुका साथै सकरात्मक सन्देश दिएको दलित महिला सङ्घकी सहजकर्ता तारा विकले बताउनुभयो । उहाँहरुको उत्साहलाई कायम राख्न संस्थागत रुपमा आवश्यक सहयोग र समन्वय गरिने उहाँले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिका–१ का वडाध्यक्ष मनवीर क्षेत्रीले दिदीबहिनीले सामूहिक रुपमा रोपाइँ गरेर उदाहरणीय कार्य गरिरहनुभएको बताउनुभयो । महिलाको हौसला वृद्धि गर्न अन्य सीपमूलक कार्यक्रम सञ्चालनको योजना बनाइएको जनाउँदै महिला सक्षम भए समाज नै समृद्ध बन्ने उहाँले धारणा राख्नुभयो । रासस