• ८ भाद्र २०८१, शनिबार
  •      Sat Aug 24 2024
  •   Unicode
Logo

स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ: अध्यक्ष ढकाल



काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरुमा उत्साह बढेको बताउनुभएको छ ।

अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको उल्लेख गर्दै नयाँ बनेको सरकारले नेपालमा राजनीतिक तथा नीतिगत स्थायित्व दिने र लगानीकर्तामा आत्मविश्वास बढ्न गई मुलुकमा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।

“कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । यो सरकारले स्थायित्वको सुनिश्चितता दिएपछि आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ र यसबाट अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ,” ढकालले भन्नुभयो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको र उहाँले सोमबार सबै मन्त्रालय समेटी मन्त्रिपरिषद् विस्तार गरिसक्नुभएको छ ।

आज रासससँग कुरा गर्दै अध्यक्ष ढकालले तीन पटकसम्म मुलुकको नेतृत्व गरिसक्नुभएका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरुत्थानमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रीहरुलाई दिएको निर्देशनले निजी क्षेत्रलगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह भएको आफूले लिएको ढकालले उल्लेख गर्नुभयो ।

“सरकार गठन प्रक्रियामा लामो समय लाग्ने र गठबन्धन दलहरुबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने गरेको हाम्रो विगत छ तर प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ । यसबाट पनि अब सरकारी काममा चुस्तता आउनाका साथै लगानीकर्ताहरुमा स्थायित्वको सन्देश प्रवाह भएको अपेक्षा गरिएको छ”,  उहाँले भन्नुभयो ।

अर्थ मन्त्रालयमा यसअघि पनि पटक–पटक अर्थमन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, “अहिले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा छ । सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायको निरन्तरको प्रयासबाट बिस्तारै आफ्नो लयमा फर्किन लागेको मुलुकको अर्थतन्त्रले अनुभवी अर्थमन्त्री खोजेको समयमा विष्णु पौडेलको नेतृत्वले यस क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।”

“अर्थमन्त्रीका रुपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीका रुपमा स्थापित गरिसक्नुभएको छ । अहिलेको अर्थतन्त्रका चुनौतीहरु सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ”, उहाँले भन्नुभयो । नेपालको समग्र निजी क्षेत्र अर्थमन्त्रीसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधैँ तयार रहेको पनि अध्यक्ष ढकालको भनाइ थियो । रासस