• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

बागलुङमा दुग्ध किसानले पाए रु सोह्र लाख अनुदान



बागलुङ । जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।

केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । दूधमा भने प्रतिलिटर रु २.५ अनुदान दिँदै आइएको उहाँले जानकारी दिनुभयो ।

यसवर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन् । दूधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको रु २४ लाखमध्ये रु १६ लाख ४२ हजार रकम सोझौँ किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले जानकारी दिनुभयो । अनुदान पाउन एउटै सङ्कलन केन्द्रले दैनिक दुई सय लिटर दूध सङ्कलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रुपमा दूध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उहाँले बताउनुभयो ।

“संस्थागत रुपमा दूधको बजारीकरण गरेको तथ्याङ्कका आधारमा रु दुई दशमलव पाँचका दरले अनुदान दिएका छौँ”, सापकोटाले भन्नुभयो, “सात वटा सहकारीमार्फत दूधको सङ्कलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन् । सहकारीको खातामा राखिएको रकम सहकारीले सङ्कलन गरेको दूधको आधारमा पुन: किसानलाई भुक्तानी गर्दछ ।”

केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर रु २.५ का दरले दूधमा अनुदान दिएको हो ।

सात वटै सहकारीले एक वर्षमा छ लाख ५६ हजार लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गरेका छन् । दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताउनुभयो । उहाँका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्याङ्कको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई रु २।५ का दरले दूधमा अनुदान दिन थालेको छ । रासस