१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टि स्टेट प्रकरण ढाकछोप गर्नका लागि काँग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन काँग्रेस एमालेले नयाँ सत्ता समिकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताउनुभएको हो । अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरु भ्रष्ट छन् भन्नेकुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिनुभयो । उहाँले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । संसदको ठूलो दल काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘मैले अहिले यहाँ देखेँ–दोहोरी । कोही यहाँ नयाँ भर्खरै आएका जस्ता, कोही चाँही पुराना । कतिपय चाहीँ सत्तामा बस्दा नेपालमा असाध्यै सुशासन दिएको, भ्रष्टाचार उन्मुलन गरेको, देशको सार्वभौमिकता, अखण्डताको रक्षा गरेको । त्यस्तो गरेको, नगरेको त नेपाली जनतालाई थाहा छ नि । अहिले जुन यहाँ पनि कुरा आयो । यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भूटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न । त्यसकारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाई दिएपनि नेपाली जनताले भोगी राखेका छन, देखिराखेका छन् । त्यसकारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? त्यसकारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो ? हामी २०७४ मा बापपन्थीहरु एकै ठाउँमा भएका थियौं नि । त्यो वामपन्थीहरुको सरकार भत्काउनुको औचित्य के थियो, त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्को चोटी पनि भत्काएको होइन ? अनि त्यसको सफाई दिने बेलामा चाहीँ एमाले बचाउनका लागि भन्ने कुरा आयो होइन ? त्यसकारणले सबैको हविगत देखिएको छ ।’

‘संसद भित्रका राजनीतिक दलहरु साना, ठूला, नयाँ पुराना सबैलाई नेपाली जनताले देखेका छन । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारालाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन । मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईहरु संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्दैन थ्यो ? किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो । त्यो पनि सबभन्दा ठूलाले होइन, माईलो पार्टीले गर्दैछ । यसमा पनि दालमा काला हए । भोलीका दिनमा नेपाली जनताले बुझदै जानेछन् । हाम्रो तपाईहरुलाई सुझाव के हो भने–राजनीतिक पार्टीहरुप्रति नेपाली जनताको असाध्यै घृणा छ । नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् ? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने । पैसा जम्मा गर्ने । र, आउँदो चुनावलाई करोडौं रकम जम्मा गर्ने । जोसुकै होस चाहे नयाँ आएकाका कुरा गरौं, चाहे पुरानाका कुरा गरौं । सरकारमा बस्नेहरुबाटै सहकारीमा अर्वांैको हिनामिना भएको होइन र ? यो नेपाली जनताले बुझेका छैनन । यो लोकतन्त्र गणतन्त्र हामीबाटै खतरा छ । अहिलेसम्म जो भयो भयो । विगतका गल्ती कमजोरीलाई स्वीकार गरेर अघि बढ्नुपर्छ ।’

अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरुप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अव बन्ने सरकारले काम गर्नुपर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल