७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान



अ+ अ-

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणा अनुरुप अन्य मुलकुमा झै नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको हो ।

विभिन्न जातजाती र भौगोलिक अवस्था अनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेरसमूहका युवाहरुको शारीरिक बनोटको पहिचान गरी उनीहरुलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको विभिन्न जिल्लामा अनुसन्धान गरिएको थियो । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानियसंग समन्वय गरी अनुसन्धान गरेको हो ।

सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेशको धनुषा र सिरहा, कोशीको सुनसरी र सोलुखुम्बु तथा बागमतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानमा थारु, मगर, ब्रहमण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेरसमूहका ८ सय ५० बालवालिका समावेश थिए ।

सोही टोलीले सो अनुसन्धानका क्रममा सातैं प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको थियो । कुन स्थानमा कुन कुन परम्परागत खेल खेलिदै आएको छ भन्ने तथ्यांक संकलन गरी सो क्षेत्रमा उक्त खेलको विकास र विस्तार गर्दै खेलको जगेर्ना गर्ने उद्देश्यले परम्परागत खेलको पनि अनुसन्धान गरिएको निर्देशक तिमल्सिनाले बताए । यसका लागि २५ देखि ८५ वर्ष उमेरसमूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरुको समूहबाट परम्पारगत खेलका विषयमा जानकारी लिइएको थियो ।

टोलीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै राखेपले कार्य योजना तयार गरी अगाडि बढ्ने बताए ।

‘नेपाली खेलकुदमा यो एउटा विल्कुलै नयाँ अभ्यास हो । हाम्रो पहिलो प्रयासले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ । आशा छ क्षमता भएर पनि कसैको नजरमा नपरेका क्षमतावान खेलाडी अगाडि आउने छन् ।’ सदस्य–सचिव घिसिङले भने– ‘आगामी दिनमा अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउदै लैजाने छौं ।’

सदस्य–सचिव घिसिङले नेपालमा खेलिने परम्परागत खेलको पनि तथ्यांक संकलन गर्नु महत्वपूर्ण भएको बताउदै यसले नेपालमा खेलिने मौलिक खेलहरु के के हुन्, कहाँ कहाँ खेलिन्छन् र कुन अवस्थामा छन् भन्ने जान्न र जगेर्ना गर्न जरुरी भएको बताए ।