काठमाडौं: नेपालिज इन फोटोग्राफीले विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरेको ‘वार्षिक फोटोग्राफी प्रतियोगिता–२०२६’ का विजेताहरू घोषणा गरेको छ।
गत असार ५ गतेदेखि साउन २० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका ५ सयभन्दा बढी हौसला तथा व्यावसायिक फोटोग्राफर सहभागी भएका थिए। प्रतियोगितामा ८ हजारभन्दा बढी तस्बिर प्राप्त भएको आयोजकले जनाएको छ।
नेपालको मौलिक सम्पदा, प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा तथा दैनिक जनजीवनलाई तस्बिरमार्फत प्रस्तुत गरिएका मध्येबाट मिथुन कुँवरले ग्रान्ड प्राइज जितेका छन्। कलात्मक दृष्टिकोण, प्राविधिक दक्षता तथा प्रभावकारी कथ्य प्रस्तुतिका आधारमा कुँवरलाई ग्रान्ड प्राइज प्रदान गरिएको आयोजकले जनाएको छ।

उत्कृष्ट १० फोटोग्राफर
प्रतियोगिताको उत्कृष्ट १० मा सरोज ढकाल, लुजा श्रेष्ठ, कुशल श्रेष्ठ, विवेक कुँवर, मिथुन कुँवर, संघर्ष खत्री र प्रितम कावाङ लगायत रहेका छन्।
१. सरोज ढकाल — मोबाइल फोटोग्राफी विजेता
२. लुजा श्रेष्ठ — मोबाइल फोटोग्राफी उपविजेता
३. कुशल श्रेष्ठ — मोबाइल फोटोग्राफी दोस्रो उपविजेता
४. विवेक कुँवर
५. मिथुन कुँवर
६. कुशल श्रेष्ठ
७. कुशल श्रेष्ठ
८. संघर्ष खत्री
९. प्रितम कावाङ
१०. संघर्ष खत्री
प्रतियोगितामा रङ्गीन तथा श्यामश्वेत फोटोग्राफी लगायत विभिन्न विधाका उत्कृष्ट तस्बिरलाई समेत पुरस्कृत गरिएको छ।
४२ उत्कृष्ट तस्बिर प्रदर्शनीमा
प्रतियोगिताबाट छनोट भएका ४२ वटा विजेता तस्बिर नेपालिज इन फोटोग्राफीको आधिकारिक सामाजिक सञ्जाल पृष्ठमा सार्वजनिक गरिएको छ। ग्रान्ड प्राइज विजेता मिथुन कुँवरको तस्बिर संग्रहसमेत उक्त प्रदर्शनीमा समावेश गरिएको छ।
आयोजकका अनुसार उत्कृष्ट तस्बिरका उच्च गुणस्तरका प्रिन्ट तयार गरी आगामी दिनमा ‘भौतिक फोटो प्रदर्शनी’ समेत आयोजना गरिनेछ।
प्रतियोगितालाई नेपालमा क्याननको आधिकारिक वितरक प्राइम्याक्स इन्टरनेसनल इन्कले मुख्य प्रायोजन गरेको थियो भने साओमी नेपाल मोबाइल फोटोग्राफी विधाको प्रायोजक रहेको थियो।
त्यस्तै, रुटिन अफ नेपाल बन्द सञ्चार साझेदार, मुनस्टोन प्रोडक्सन सिर्जनात्मक साझेदार, पाटन संग्रहालय स्थल साझेदार, हेक्सइभेन टेक वेब होस्टिङ साझेदार, डिजी प्लस कलर ल्याब मुद्रण साझेदार, योन्जन फ्रेमिङ हाउस फ्रेमिङ साझेदार तथा इभोल्भ प्रालि (लाम्प्रो नेपाल) डिजिटल स्क्रिनिङ साझेदारका रूपमा रहेका थिए।
प्रतियोगिताको निर्णायक मण्डलमा मणि लामा, जगदीश तिवारी, नरेन्द्र श्रेष्ठ र नवेश चित्रकार रहेका थिए।
नेपालिज इन फोटोग्राफीले नेपाली फोटोग्राफी क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग पुर्याउँदै आएका दशरथ श्रेष्ठ बीजुक्छें प्रति पनि विशेष आभार व्यक्त गरेको छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने संस्थापक विवेकजंग बस्नेत, आयोजक टोली, फोटोग्राफर, सहभागी, निर्णायक, प्रायोजक तथा साझेदार सबैलाई धन्यवाद दिएको छ।
नेपालिज इन फोटोग्राफीले वार्षिक प्रतियोगितालाई **नेपालको फोटोग्राफी समुदायलाई सुदृढ बनाउने, फोटोग्राफरलाई एउटै साझा मञ्चमा जोड्ने, उनीहरूको सीप विकास गर्ने तथा नेपालको दृश्य पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन अभियानको हिस्सा** भएको जनाएको छ।










