२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने



अ+ अ-

पाटन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनीका साथै विमर्श सभा हुने भएको छ ।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भोली मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा स्व कोइरालासँग जोडिएका तस्बिर, वृत्तचित्र प्रदर्शनीका साथै विमर्श सभा हुने जानकारी दिइएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रदर्शनीमा विभिन्न समयमा पत्रकारले कैद गरेका एक सय ५१ भन्दा बढी तस्बिर राखिने जानकारी दिनुभयो । “केन्द्रीय कार्यालयको सभाहलमा हुने प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उहाँका सहकर्मी नेतासँग सम्बन्धित तस्बिरहरु रहनेछन्, ती तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछिको शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिबिम्वित गर्नेछन्”, उहाँले भन्नुभयो । शान्ति तथा विकास निर्माणको चरणमा विकास पूर्वाधार निर्माणका सन्दर्भ, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्बिरले प्रष्ट पार्ने विश्वकर्माले बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्ने प्रदर्शनीको प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तित्वले अवलोकन गर्ने जानकारी दिँदै उहाँले त्यसअवसरमा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग र फोटो पत्रकारितास् जोखिम र अनुभव विषयमा विमर्शसभा हुने बताउनुभयो ।

‘क्रान्तिदेखि शान्तिसम्म’ विमर्शसभामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वगृहमन्त्री तथा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवाली वक्ता रहनुहुने र उक्त सत्रको सहजीकरण डा गेजा शर्मा वाग्लेले गर्नुहुने जनाइएको छ ।

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार ‘समुन्नतिको दोस्रो जग’ विषयक विमर्शमा डा अच्युत वाग्ले, डा हरि शर्मा र डा मञ्चला झाले विमर्श गर्नुहुने र डाक्टर विश्व पौडेलले सहजीकरण गर्नुहुनेछ । यस्तै ‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयक विमर्शमा गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेले विमर्श गर्नुहुनेछ भने पत्रकार सुधीर शर्मा र जगत नेपालले सहजीकरण गर्नुहुनेछ । प्रदर्शनी र विमर्शसभाका साथै कार्यक्रममा स्व कोइरालासँग जोडिएका सन्दर्भमा वृत्तचित्रसमेत प्रदर्शनी गरिने छ ।

विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री हुनुभएको थियो । विसं २००४ मा विराटनगर भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिनुभएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहनुभएको थियो । विसं १९८१ असार १८ गते जन्मिनुभएका उहाँको २०६६ साल चैत ७ गते निधन भएको थियो । रासस