९ मंसिर २०८१, आईतवार
,
Latest
‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ जम्न थाले मनाङका नदी र ताल राहदानी विभागको कम्प्युटरमा भाइरस पसेपछि सेवा ठप्प दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२० लाई फर्केर हेर्दा



अ+ अ-

जीवन भण्डारी

अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर बितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा नलाग्दै शूरु भएको कोरोनाको महामारीले सबै क्षेत्रलाई कोरोनाको प्रत्यक्ष मारमा पर्‍यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् । यस वर्षका मुख्य घटनाहरु यहाँ छोटकरीमा चर्चा गरिएको छ । 

कोरोना महामारी 

यस वर्षको सबैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यो यस वर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ ।  कोरोनाको सर्वब्यापी र सर्बपक्षीय क्षतिको कुनै हिसाब किताब गरेर नै सम्भब छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ । कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोपपनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्युनिकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई विदाई गरिँदैछ । 

इयूबाट बोलायतको बहिर्गमन

लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ । जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो । पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो । यूरोपेली संघबाट बाहिरिएपछि अहिले ब्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ । 

ट्रम्पमय राजनीति 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो । गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उहाँले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उहाँको दृष्टिकोणलगायतका कारणले उहाँ चर्चाको केन्द्रमा नै रहनुभयो । दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उहाँलाई यस वर्षले टुंगो लगायो । उहाँलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित हुनुभयो । निर्वाचनपछि पनि उहाँले नतिजा अस्वीकार गरेर थप चर्चा बटुल्नुभयो । वर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो  सदनमा  पारित ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गर्‍यो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता

अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गर्नु भएको थियो । त्यो घोषणा उहाँको कार्यकालको अन्त्यतिर मात्रै लागुभयो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ बर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ । तर शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन । 
  
सलह आतंक

यस वर्षका विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो । विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक वर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्‍याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ । 

ठूला दुःखद घटना  

यस वर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका  थिए । लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो । अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्‍यो । आगलागीको असर अन्य देशहरुमा पनि पर्‍यो । विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि  रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो ।

किमको मृत्युको हल्ला  

बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस वर्ष धेरैको ध्यान खिच्यो । दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहिन हुँदा उहाँको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए । उहाँको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए । सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झण्डै २० दिनपछि उहाँ प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक हुनुभएको थियो । उहाँको मृत्युको चर्चा यसअघि पनि पटक पटक हुनेगरेकोमा यस पटक पनि झुटो सावित भएको छ । 

अल बिदा म्यारोडोना

फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनु पर्‍यो । उहाँले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउनुभएको थियो । सन् २००० मा फिफाले मतदान गराउदाँ अर्जेन्टेनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन हुनुभएको थियो । खेल जगत्मा कतिपयले उहाँलाई फुटबलमयी खेलाडी र भगवान्समेतको संज्ञा दिने गरेका छन् । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए । उहाँको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो । 

माथि उल्लेखित बाहेक पनि वर्ष सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरुलाई गुमाएको छ । त्यसैगरी अरु धेरै दीर्घकालिन महत्व राख्ने घटनाहरु पनि भएका छन् । धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादमा बेला बेलामा चर्चामा रहेका थिए । रासस