• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

लगातार तिन खेल जित्दै अष्ट्रेलिया ‘सुपर एट’मा



काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा अष्ट्रेलिया सुपर एटमा प्रवेश गरेको छ । केहीबेरअघि नामिबियालाई हराउँदै लगातार तिन खेल जित्दै अष्ट्रेलियाले सुपर एटको टिकट काटेको हो ।

अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई ३९ रनले तथा दोस्रो खेलमा इंग्ल्याण्डलाई ३६ रनले हरायो । समूह बी मा रहेको अष्ट्रेलियाको ३ खेलबाट ६ अंक छ ।

स्कटल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहँदा नामिबिया २ अंकका साथ तेस्रो, इंग्ल्याण्ड १ अंकका साथ चौंथो स्थानमा रहँदा अंकविहिन रहेको ओमान पुछारमा छ ।

खेलको नतिजाः
खेलमा अष्ट्रेलियाले सहज जित निकाल्यो । अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।

नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले ५.३ ओभरमै भेट्टायो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले ८ बलमा २० रन जोड्दा ट्राभिस हेड १७ बलमा ३४ रनसहित अविजित रहे भने कप्तान मिचेल मार्श ९ बलमा १८ रनमा अविजित रहे ।

नामिबियाका लागि एकमात्र विकेट डेभिड विसेले लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ थालेको नामिबिया १७ ओभरमा ७२ रनमै अलआउट भयो ।

उसका लागि कप्तान जेरहार्ड इरासमसले सर्वाधिक ३६ रन जोडे । यस्तै, माइकल भान लिंगेनले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्न अष्ट्रेलियाका आडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए भने जोस हेजलहुड र मार्कुस स्टोइनिसले २–२ तथा प्याट कमिन्स र नाथन एलिसले १–१ विकेट लिए ।