• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बंगलादेशमाथि दक्षिण अफ्रिकाको चौथो जित, नासाउ पिचमा ११३ रनको स्कोर पनि पछ्याउन सकेन



काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । टी–२० विश्वकपमा अफ्रिकी टोलीले बंगलादेशलाई लगातार चौथो खेलमा पराजित गरेको हो । यी दुईबीच अहिलेसम्म ४ खेल मात्र खेलिएका छन् ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो । ११४ रनको लक्ष्य पछ्याएको बंगलादेशी टोलीले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

लेग स्पिनर केशव महाराज यस जितको नायक बने । उनले अन्तिम ओभरमा ११ रन बचाए । यो ओभरमा महाराजले २ विकेट पनि लिए । उनले कुल ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच हेनरिक क्लासेन भए । उनले ४४ बलमा ४६ रनको उपयोगी इनिङ खेले ।

यस्तै, डेभिड मिलरले २९ रनको योगदान दिए । दुवैले ५औं विकेटका लागि ७९ बलमा ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सयको आँकडा पार गराए । बंगलादेशका तनजित हसन शकिबले ३ विकेट लिए । तस्किन अहमदले २ विकेट लिए । रिशाद हुसेनले पनि सफलता हात पारे ।

बंगलादेशका लागि तौहिद हरदोयले सर्वाधिक ३७ रनको इनिङ खेले । महमुदुल्लाहले २० रन बनाए । केशव महाराजले ३ विकेट लिए भने कागिसो रबाडा र एनरिक नोर्त्याले २/२ विकेट लिए ।