८ श्रावण २०८३, शुक्रबार
,
Latest
लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव आह्वान नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर ‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ: एमाले अध्यक्ष ओली



अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले आज यहाँ आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । यसलाई कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु ।”

उहाँले वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभासम्मेलन र औपचारिक वृक्षरोपण गरेर मात्र प्रदूषण नरोकिने उल्लेख गर्दै वातावरण संरक्षण अभियानमा समाजका सबै तहतप्काबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भन्नुभयो, “हिमाल हामीसँग छ, यसलाई सुरक्षित राख्नुपर्छ । हिमालमा हिउँ भयो भने मात्र अस्वाभाविक रूपमा वृद्धि भइरहेको पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्न सकिन्छ, अन्यथा अकल्पनीय समस्या व्यहोर्न पर्छ, त्यसतर्फ समयमै सजग एवं सचेत भई वातावरण जोगाउने अभियानमा सरिक होऔँ ।”

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुृर जिल्ला सभापति एवं सङ्घीय सांसद दुर्लभ थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिलीप प्रजापति, नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायत विभिन्न व्यक्तित्वको सहभागिता थियो ।

राष्ट्रका लागि दुई घण्टे अभियानका अध्यक्ष मधु ढुङ्गेल, संयोजक नरेश रञ्जितले अभियानलाई तीव्रता दिएर भक्तपुरलाई सफा बनाउने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभियानमा जीवन विज्ञान, गैरसरकारी संस्था महासङ्घ भक्तपुरलगायत २० भन्दा बढी सङ्घ संस्थासम्बद्ध व्यक्तिसहित विद्यार्थीको उल्लेख्य उपस्थिति थियो ।