१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
अ अ+ अ-

झापा। ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो— आफ्नै स्वामित्वमा एक टुक्रा जमिन ।

आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो— कुन दिन सरकारले उठिबास लगाउँछ ।

बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा उहाँलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिँदा उहाँका आँखा रसाए । “ढिलै भए पनि पुर्जा पाइयो,” उहाँले भावुक हुँदै भन्नुभयो । जहरमान मात्रै होइन, अर्जुनधारा–११ लक्ष्मीधापकी सपना सिवा दर्जी र उमादेवी तामाङको खुसी पनि उस्तै थियो ।

जहरमान, सपना र उमादेवीसहित अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले बिहीबार जिल्ला भूमि समस्या समाधान समिति झापाबाट जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन् ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले आफू पनि अव्यवस्थित बसोबासीको पृष्ठभूमिबाट आएको र भूमिहीनका पीडा बुझेको बताउनुभयो । “यो केवल एउटा कागजको टुक्रा होइन, पुस्तौँदेखि भोगिएको असुरक्षाको अन्त्य हो,” उहाँले भन्नुभयो ।

प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले १७ जनालाई पुर्जा हस्तान्तरण गर्दै जोखिमयुक्त बस्तीबाहेक कसैलाई पनि विस्थापित नगर्ने सरकारको नीति रहेको बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार वडा नं ११ मा यसअघि नै १४४ जनाले लालपुर्जा प्राप्त गरिसकेका छन् ।

पालिकाले ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित र छ हजार ३५९ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । अभियानलाई छिटो निष्कर्षमा पु¥याउन प्राविधिक तथा प्रशासनिक कर्मचारी सार्वजनिक बिदाका दिनसमेत परिचालन भएका नगरप्रमुख तामाङले जानकारी दिनुभयो ।

जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वास्तविक लाभग्राहीलाई मात्रै पुर्जा वितरण गर्न प्रशासन सजग रहेको बताउनुभयो ।

नापी कार्यालयका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका सबै स्थानीय तहमा पुर्जा वितरणको प्रक्रिया अघि प्रारम्भ भएको छ । आज मेचीनगरका पाँच जना अव्यवस्थित बसोबासीले पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रदान गरिँदै छ । रासस