१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक आज सिंहदरबारमा दलको कार्यालयमा बस्दैछ । सरकारले  हठात सदनको चालु अधिवेशन अन्त्य गरेपछि सो सम्बन्धमा समीक्षा गर्न संसदीय दलको बैठक बस्न लागेको दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । 

प्रमुख सचेतक भट्टराईले संंसदीय दलको बैठकमा सरकारले सदनको चालु अधिवेशन अन्त्य गरेपछिको अवस्था र समसामयिक विषयमा छलफल हुने बताउनुभयो ।

प्रतिनिधिसभाको चालु १०औँ अधिवेशन गत मङ्सिर २८ गते प्रारम्भ भएको थियो । यस अवधिमा संसद्बाट कुनै पनि विधेयक पारित हुन सकेन । पार्टीद्वारा निष्काशित १४ सांसद्लाई सभामुखले निष्काशन नगरेको भन्दै एमालेले लगातार संसद्को बैठक अवरुद्ध गर्दै आएको थियो । 

संसद्मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्ताव भई छलफल हुने स्थितिमा थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठकमा महाअभियोग प्रस्तावबारे छलफल हुने जानकारी दिनुभएको थियो ।

तर सरकारले हठात सदनको चालु अधिवेशन अन्त्य गरेपछि महाअभियोग प्रस्तावमाथिको छलफल अर्को अधिवेशनसम्मका लागि सरेको छ । महाअभियोग प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ मत प्राप्त नहुने अवस्था आएपछि सरकारले हाललाई सदनको चालु अधिवेशन अन्त्य गरेको अनुमान गरिएको छ ।