• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी ★   साउदीमा चरम गर्मीका कारण हजमा गएका एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु ★   पुल्चोक, नेपाल ल र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्युनतम पारिश्रमीक पाउने ★   पूर्व भारतीय क्रिकेटरले गरे आत्महत्या ★   पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ: गृहमन्त्री ★   पहिरोले पुल बगाएपछि आवगमन ठप्प ★   चेस प्रतियोगिता यसै सातादेखि ★   बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ: काँग्रेस प्रमुख सचेतक लेखक ★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ

दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’



काठमाडौं, १९ जेठ । दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको थियो । उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेपनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ ।

रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) तत्कालीन समयमा दरबारको नजिक मानिएका डा. सुन्दरमणि दीक्षितसहितको उपस्थितिमा अन्तरक्रिया गरेको छ । सो क्रममा क्लबका सभापति ऋषि धमलाले राजा विरेन्द्रसँग आफ्नो भेटलाई स्मरण गरे । उनले उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यकै गर्भमा रहेको भन्दै छानविनको माग गरे । सभापति धमलाले पुनः छानविन समिति बनाएर निश्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

‘त्यो हत्याकाण्ड त्यसै भएको छैन । छानविन गर्नुपर्छ । दरबार हत्याकाण्ड कसरी भयो, कसले गर्यो ? किन गर्यो ? छानविन गर्नुपर्छ । उच्चस्तरीय समिति पहिला पनि बन्यो । तरानाथ रानाभाट अहिले पनि हाम्रो सामू हुनुहुन्छ । माधव नेपालले समितिमा बस्न मान्नुभएन,’– उनले भने ।

नागरिक समाजका अगुवा डा. दीक्षितले राजा विरेन्द्रलाई असल र नम्र व्यक्तिको रुपमा सम्झिए । उनले दरबार हत्याकाण्ड दिपेन्द्रले नै गराएको दाबी गरे । उनले दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दिपेन्द्रको लभ अफयर नै रहेको दाबी गरे ।

दरबार हत्याकाण्डलाई उनले यसरी सम्झिए,‘त्यो दिन शुक्रबारको दिन थियो । राज परिवारको जमघट हुने दिन थियो । त्यहाँ दिपेन्द्रले कम्ब्याट ड्रेस लगाएर आएर गोली हानेको छ । राजा विरेन्द्रलाई गोली हानिसकेपछि अरुलाई हान्दै गए, फेरि फर्किएर आएर राजा मरेका छन् कि छैनन् ? हेरको छ । त्यो बेलासम्म राजाको स्वर्गीय भएको थिएन । त्यसबेलामा राजाको शीर उहाँको बहिनी (शोभा) को काखमा राखेर उहाँको बहिनीले हेरविचार गरिराख्नुभएको थियो । त्यसबेलामा दिपेन्द्र आएर फेरि गोली हानेर हत्या भएको छ । यो हत्या दिपेन्द्रले गरेको हो । कारण सबैलाई थाहा छ, कारण लभ अफयर नै हो । बिहेको सम्बन्ध हो । दिपेन्द्रको मुकुटधारी मान्छे आयो भने । त्यो होईन । दिपेन्द्रले वंशनाश गरेको हो ।’

त्यसबेलाको राजनीतिक नेतृत्व पूरै प्यारालाइज हुँदा छानविन हुन नसकेको उनको भनाइ छ । दिपेन्द्रले हत्या गरेको कुरामा विवाद नरहेको दाबी गर्दै उनले ज्ञानेन्द्रको परिवारलाई केही नहुनुको रहस्यसमेत खुलाए ।

ज्ञानेन्द्र घटना हुनुभन्दा केही दिनअघि नै पूर्वनिर्धारित कार्यक्रमअनुसार बाहिर गएको बताए । घटना भएपछिमात्रै ज्ञानेन्द्रलाई सो बारेमा उनकी आमाले फोनमार्फत जानकारी गराएको उनको दाबी छ । ज्ञानेन्द्रको श्रीमती कोमल सो घटनामा घाइते भएको उनले बताए । सो घटनामा कोमलको मृत्यु नहुनुमा एउटी राजकुमारी गोली लागेर ढलेपछि त्यसमाथि कोमल र कोमलमाथि पुन अर्की राजकुमारी ढल्दा उनीलाई केही नभएको बताए ।

‘दिपेन्द्रले गोली हान्दै जाँदा एकपछि अर्को ढल्दै गए । एउटा दिदी ढलिन्, त्यसमाथि कोमल ढलिन र अर्की राजकुमारी पनि त्यहीमाथि ढल्दा उनी बचिन् । आजको दिनसम्म पनि पूर्वरानी कोमलको छातीमा गोली छ । त्यो निकाल्न सकिएको छैन । त्यो निकालियो भने उनको मृत्यु हुनसक्छ,’– दीक्षितले भने ।

दिपेन्द्रको लभ अफयर चलिरहँदा उनको पक्षमा निराजन र पारस रहेको दीक्षितको दाबी छ । अरु सबै परिवार रानीको पक्षमा रहेकाले दिपेन्द्रले छानीछानी गोली हानेको उनले बताए । पारसलाई दिपेन्द्रले नै छाडेको उनको भनाइ छ । दिपेन्द्रले सबै जनालाई मारेपछि निराजन जाइलाग्दा उनलाई पनि मारेको दीक्षितले दाबी गरे ।

अहिले एडीसीले के हेरेर बसेको भन्ने प्रश्न आइरहेको भन्दै उनले राजपरिवारको जमघटमा कुनै एडीसी छिर्न नपाउने बताए । विरेन्द्रका निकट रहेका तत्कालीन एडीसी सुन्दर रानामगरले विरेन्द्रलाई हस्पिटल पुर्याएको उनले बताए ।

विरेन्द्रको वंशनाशपछि अहिलेसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि अब देशले यसलाई धेरै दिन झेल्न नसक्ने उनले बताए । गणतन्त्र आउँदा आफूले पनि दीप प्रज्वलन गरेको स्मरण गराउँदै उनले अब यो व्यवस्था फर्कनुपर्ने अवस्था आइपुगेको बताए ।