१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

किसानलाई वरदान बन्यो झोलुङ्गे पुल

किसानलाई वरदान बन्यो झोलुङ्गे पुल
अ अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै हुनुहुन्थ्यो । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उहाँले पुल बनेपछि आउजाउ सहज बनेको सुनाउनुभयो । “पहिले एक घण्टा लाग्थ्यो, अहिले दश/पन्ध्र मिनेटमा खेतमा पुगिन्छ”, पौडेलले भन्नुभयो, “पुल बनेपछि धेरै सुविस्ता भएको छ ।”

गण्डकी प्रदेश सरकारको लगानीमा यही वर्ष उक्त झोलुङ्गे पुल बनेपछि हेम्जावासी प्रत्यक्ष लाभान्वित भएका हुन् । पुल बनेकै कारण टिमिरेचौर क्षेत्रमा खेती किसानी गर्नेको सङ्ख्या बढ्न थालेको पौडेलले बताउनुभयो । “पहिले यहाँको अधिकांश जग्गा बाँझै थियो, पुलले आवातजावत सहज बनाएपछि फेरि खेतीपाती सुरु भएको छ”, उहाँले भन्नुभयो ।

हेम्जामा सडक र नहरको सुविधा आएपछि झण्डै ३० वर्षदेखि उपल्लो टिमिरेचौर, तल्ला टिमिरेचौर, चिसाखोलालगायत क्षेत्रमा स्थानीयले कृषि गर्न छाडेका थिए । खेतबारी झाडीमा परिणत भएको थियो । ६४ वर्षीय ऋषिराम पौडेलका भनाइमा त्यस क्षेत्रमा पहिले धानलगायत खेतीबाली गरिन्थ्यो । “हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै यही थियो, यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो”, उहाँले भन्नुभयो, “पछि सबै हेम्जातिर सरेपछि यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ ।”

उहाँले आफूले पनि यस वर्षको रोपाइँका लागि बीउ राख्ने तयारी गरेको सुनाउनुभयो । ऋषिरामले पुल बनाउनका लागि जग्गासमेत दिनुभएको थियो । उहाँले पुल छेउछाउमा रहेको जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । सोही ठाउँका गोविन्द पौडेलले उपल्लो टिमिरेचौरमा ७५ घरपरिवारको जग्गा रहेको बताउनुभयो । “पहिले दुई भाइ पौडेलको दुई सय मुरी धान हुने खेत यहाँ थियो, जेठबुढो धान लगाइन्थ्यो”, उहाँले भन्नुभयो, “झण्डै २५/३० वर्ष यहाँ रोपाइँ नै भएन, अहिले फेरि किसान रोपाइँको तयारीमा लागेका छन् ।”

खेतमा आउजाउको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले त्यो क्षेत्र पछाडि परेको गोविन्दले बताउनुभयो । “अहिले पुलले धेरै सहज भयो, किसान फेरि कृषितिर फर्किन थालेका छन्, बाहिरबाट आएर जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेहरु पनि छन्”, उहाँले भन्नुभयो, “हेम्जावासीका लागि यो झोलुङ्गे पुल वरदान नै सावित बनेको छ ।”

पहिले पैदल तल खोलामा झेरर फेरि माथि खेतमा उक्लँदा सारै दु:ख हुने गरेको हेम्जाकी दुर्गा पौडेलले बताउनुभयो । “जाँदा मल बाकेर, फर्कदाँ धानको भारी लिएर आउँदा निकै गाह्रो हुन्थ्यो, अहिले धेरै सजिलो भएको छ,  पुल बनेपछि सिँचाइ कुलोका लागि पनि बजेट आएको छ”, उहाँले भन्नुभयो, “झाडी पल्टिएको जग्गालाई सफाइ गरेर कृषि गर्न सुरु गरिएको छ ।”

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले रु ९१ लाखको लगानीमा पुल बनेको जानकारी दिनुभयो । “स्थानीवासीको आवश्यकता पहिचान गरेर त्यहाँ पुल निर्माण गरिएको हो, पुलले विशेष गरी कृषिउपजलाई बजार ल्याउन सहज बनेको छ, किसानको दैनिक पनि फेरिएको छ”, उहाँले भन्नुभयो ।

एक सय ७१ मिटर लामो र झण्डै एक सय मिटर अग्लो उक्त झोलुङ्गे पुल म्याग्दीको रामकृष्ण निर्माण कम्पनीले बनाएको हो । सोही ठाउँको तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ । चिसाखोलामा प्रदेश सरकारकै लगानीमा अर्को पुल बनाउने तयारी छ । याम्दामाथिका तीन झोलुङ्गे पुलले सयौँ किसानसहित त्यस क्षेत्रका बासिन्दालाई लाभ पुग्नेछ । प्रदेशभित्र सडक, पक्की पुल र झोलङ्गे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पहाडी र हिमाल भेगमा आवातजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेको छ ।

पछिल्लो छ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयले जनाएको छ । हाल १० वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको र ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा रहेको निमित्त निर्देशक डा बानियाँले जानकारी दिनुभयो । “चालु आवमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि बजेटेको स्रोत सुनिश्चित गरिएको छ”, उहाँले भन्नुभयो ।  रासस