• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर



गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा नि:शुल्क स्वास्थ्योपचार शिविर आउोजना गरिएको हो ।

गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे र अष्ट्रेलियन क्यान्सर फाउण्ेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा पालिकाभित्रका पाँच सय ७० महिलाले उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

“भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले भन्नुभयो, “हामीले औषधि राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ । पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।” यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सक बताउँछन् ।

स्वास्थ्य शाखाका प्रमुख भट्टले पालिकाभित्रका सबैलाई पायक पर्ने गरी विभिन्न पाँच वटा वडामा शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । “शिविरमा २५ देखि ६० वर्ष उमेर समूहका महिलाले सेवा लिएका थिए”, उहाँले भन्नुभयो, “परीक्षण गराएकामध्ये करिब पाँच प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्ने जोखिम रहेको पाइएको छ ।”

शिविरमा क्यान्सरको जोखिम देखिएका महिलाले समयमै थप उपचार गर्नुपर्ने भन्दै जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रमुख भट्टले बताउनुभयो । दुर्गम भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या तथा फिस्टुलाको समस्या बढी देखिने भएकाले समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । रासस