७ मंसिर २०८१, शुक्रबार
,
Latest
विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल १७ प्रतशितले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लनुभएको छ । वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाउनुभएको थियो ।

उक्त कीर्तिमान भङ्ग गर्दै यही सिजनमा सगरमाथाको दोस्रो पटक आरोहणका लागि कामीरिता सोमबार चुचुरोतर्फ लाग्नुभएको हो । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार कामीरिताले भोलि बुधबार बिहान सगरमाथाको चुचुरोमा पुग्ने योजना अनुरुप अहिले सगरमाथाको चौँथो शिविरनजिक हुनुहुन्छ ।

“कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि अहिले साउथकोल नजिक पुग्नुभएको छ । भोलि बिहान चुचुरोमा पुग्ने योजना छ”, फिल्ड कार्यालय प्रमुख गौतमले भन्नुभयो ।

सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिता सगरमाथाको सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र पर्वतारोही हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । सगरमाथामा विभिन्न कीर्तिमान कायम गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । यही याममा पत्रकार पूर्णीमा श्रेष्ठले एक सातामा तीन पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने योजना अनुरुप सगरमाथाको चुचुरोतर्फ लाग्नुभएको छ । पत्रकार श्रेष्ठले यो याममा दुई पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ ।

तेस्रो आरोहणका लागि उहाँ पनि चुचुरोतर्फ लाग्नुभएको जनाइएको छ । यस्तै होटा पुड्का सागर सुनुवारले पनि यही याममा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने उद्देश्यसहितसगरमाथा आरोहणमा जानुभएको छ । कास्कीका सागर तीन फिट सात इन्च अग्लो हुनुहुन्छ । यही याममा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये ७० प्रतिशत आरोहीले आरोहण गरिसकेको प्रमुख गौतमले जानकारी दिनुभयो ।
उहाँले यस याममा आरोही र शेर्पा सहयोगीसहित चार सय ६० ले सगरमाथा आरोहण गरेको बताउनुभयो । “हालसम्म करिब ७० प्रतिशत आरोहीले सगरमाथा आरोहण गरिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “अबको चार दिनमा आरोहणका लागि मौसम उपयुक्त भएकाले बाँकी आरोहीले आरोहण सक्ने अनुमान गरिएको छ ।”

खाली हुँदै सगरमाथा आधार शिविर

सगरमाथाको आधार शिविरस्थित चाँदीभैm टल्कने हिउँमा रङ्गीविरङ्गी त्रिपालले सजिएको सगरमाथाको आधारशिविर बिस्तारै सुनसान बन्दै गएको छ । सगरमाथा आरोहण सकेर आरोही गन्तव्यतर्फ लागेको तथा बाँकी आरोही आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेकाले आधारशिविर सुनसान बन्न थालेको विभागको फिल्ड कार्यालयका प्रमुख गौतमले बताउनुभयो । उहाँका अनुसार यो याममा सगरमाथा आधारशिविरमा आरोहीको व्यवस्थापनका लागि एक हजार पाँच सय पाल टाँगिएको थियो ।

आधारशिविरमा पर्वतारोही, शेर्पा गाईड र सहयोगी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी तीन हजार हाराहारी मानिसको चहलपहल थियो । आरोहण यामको दुई महिनाभर आधारशिविरमा मानवीय चहलपहल रहन्छ ।

यस याममा दुई जना मङ्गोलियन नागरिकको मृत्यु भएको विभागले जनाएको छ । आरोहणका क्रममा घाइते भएका ५० जना भन्दाबढी आरोहीको सगरमाथाको विभिन्न क्षेत्रबाट उद्धार गरिएको छ । घाइतेमध्ये कतिपय आरोहीको हात आँखा खिइएको छ । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिले यो पटक आधार शिविरमा हुने अवैधानिक गतिविधि रोक्ने, जथाभावी ड्रोन उडाउने तथा विदेशी नागरिकको अवैध गतिविधि नियन्त्रणमा पनि भूमिका खेलेको जनाइएको छ । बेसक्याम्पमा एक हजार पाँच सयभन्दा बढी पालमा भोलि बिहान साउथ कोल नजिक हुनुहुन्छ । मे २५ भित्र मौसम राम्रो भएकाले सोही समयभित्र आरोगण गरिसक्न विभागको फिल्ड कार्यालयले सबै आरोहीलाई सूचित गरेको छ ।

यस वर्षको वसन्त आरोहण गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । आरोहणका लागि १० जना दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको थियो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण करिब अन्तिम चरणमा पुगेको बताउनुभयो । मौसम अनुकूल रहेकाले बाँकी आरोही पनि सहज रुपमा चुचुरो पुग्ने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो ।

विभागको पर्वतारोहण शाखाका अनुसार यो सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका थिए । रासस